शिक्षक हत्याको अभियोगमा विप्लव नेकपाका मोरङ इन्चार्ज पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । डीबी सिलवाल उपनामले चिनिने धनबहादुरलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ ।

उनलाई मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । उनको साथबाट एउटा पेस्तोल, तीन वटा गोली र एउटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि हातहतियार खरखजना कसूरमा थप अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । यसअघि गत २३ मंसिरमा मिक्लाजुङ गाउँपालिकाका वडा नंं १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको थियो ।

त्यहाँस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका प्राध्यापक रहेका श्रेष्ठको हत्या विप्लव समूहले नै गरेको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया