उत्पादन नबढ्दा विद्युतमा भारतकै भर

  • पुष्प कोइराला

काठमाडौँ । विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रको तथ्यांकअनुसार गत वर्ष माघ ६ गते २२ हजार ३ सय १० मेवा आवर (करिब ९ सय ३० मेगावाट) विद्युत् खपत भएको थियो । यस वर्ष सोही दिनको खपत २४ हजार ८ सय मेवा आवर (करिब १ हजार ३४ मेगावाट) छ ।

यसको मतलब विद्युतको माग १०४ मेगावाट बढेको छ । अझ साँझको समयमा हुने उच्च खपत भने १३ सय ८३ मेगावाटसम्म पुगेको रेकर्ड गरिएको केन्द्रले जनाएको छ । घटबढ भइरहने भएपनि अहिले नेपालको कुल विद्युत माग मध्ये आन्तरिक उत्पादन र भारतबाट आयात हुने परिमाण लगभग बराबरी छ ।

जसका कारण विद्युतकाे बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन भारतसँगको निर्भरता बढ्दै गएको छ ।

|स्रोतः नेपाल विद्युत प्राधिकरण|

खपतअनुसार विद्युत् आपूर्ति गर्न सामान्य अवस्थामा प्राधिकरणका आयोजनाबाट २७२ मेगावाटसम्म र उच्च माग धान्न ५ सय मेगावाटसम्म उत्पादन गर्ने गरिएको छ । निजी क्षेत्रका आयोजनाहरुबाट भने हिउँद याममा उच्च माग भएका बेला पनि २ सय ८५ मेगावाट भन्दा बढी विद्युत् उत्पादन हुँदैन । सामान्य अवस्थामा निजी क्षेत्रका आयोजाबाट २५२ मेगावाटसम्म उत्पादन भएको छ ।

कुल आन्तरिक उत्पादन ५२४ मेगावाट हुँदा भारतबाट ५१० मेगावाट विद्युत् आयात भएको तथ्याँक छ । यसरी बढ्दो माग धान्न खपतको झण्डै ५० प्रतिशत विद्युत्का लागि भारतसँग निर्भर हुनु परेको देखिन्छ ।

गत वर्षको माघ ६ गते भारतबाट ३५४ मेगावाट आयात भएकोमा यस वर्ष सोही दिनको माग धान्न भारतबाट ५१० मेगावाट विद्युत् आयात भएको केन्द्रले जनाएको छ ।

उत्पादन नबढ्दा आयातकै भर
हाल नेपालमा १ सय ७ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । यी मध्ये १५ वटा आयोजना १ मेगावाटसम्म क्षमताका र ९२ वटा आयोजना १ मेगावाटभन्दा ठूला छन् । यी आयोजनाको जडित उत्पादन क्षमता १२ सय ४७ मेगावाट छ । यी बाहेक १ दशमलव ६८ मेगावाटको सौर्य ऊर्जा प्लान्ट सञ्चालनमा छ भने ५३ मेगावाटका दुई थर्मल प्लान्ट बन्द छन् ।

यी सबै गरी नेपालको कुल विद्युत् जडित क्षमता १ हजार ३ सय १ मेगावाट पुग्छ । तर, हिउँदमा आन्तरिक उत्पादन मुस्किलले ५–६ सय मेगावाट मात्र पुग्ने गरेको प्राधिकरणले जनाएको छ ।

गत माघदेखि हालसम्म कुनै आयोजना थपिएका छैनन् । फागुनदेखि देखिएको कोभिड–१९ को महामारीले यस वर्ष उत्पादन सुरु गर्ने तयारीमा रहेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको साञ्जेनजस्ता विद्युत् प्राधिकरणले निर्माण गरिरहेका आयोजनाले उत्पादन सुरु गर्न सकेनन् । त्यस्तै, निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि कोभिडले पछि सारेको छ । तर, यो वर्ष माग भने १ सय मेगावाट भन्दा बढीले बढेको छ ।

उद्योग पूर्ण क्षमतामा चलेका तथा होटल र पर्यटन क्षेत्र पनि सुचारु हुन थालेकाले औद्योगिक लोड समेत बढेको प्राधिकरणको भारण प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले मकालु खबरलाई जानकारी दिए ।

काठमाडौंबाहेक विराटनगर, जनकपुर, वीरगन्ज, हेटौडा, भरतपुर, बुटवल, भैरहवा, सुर्खेत जस्ता शहरमा विद्युत् माग बढेको उनले बताए । ‘मानिसको जीवन शैली बदलिएको छ,’ उनले भने, ‘जनसंख्या, शहरीकरण, आर्थिक अवस्था सबैमा आएको वृद्धिसँगै हिटर, गिजर जस्ता विद्युतीय उपकरणको प्रयोग बढेको छ । यसले पनि विद्युत् खपत बढाएको छ ।’

औद्योगिक प्रतिष्ठानमा मात्रै ३ सय ५० देखि ४ सय मेगावाटसम्म खपत हुने गरेको छ ।

जलाशय र अर्ध जलाशययुक्त आयोजना नहुँदा आयात बढ्दो
१३ सय मेगावाट जडित क्षमता हुँदा पनि जलाशययुक्त र अर्ध जलाशययुक्त आयोजना धेरै भएको भए साँझ र बिहानका समयमा देखिने उच्च माग धान्न समस्या नहुने केन्द्रका प्रमुख भट्टराईले जानकारी दिए । ‘हामीकहाँ खहरे खोला जस्ता हिउँदमा सुक्ने नदीको बहाबमा आधारित आयोजना धेरै भए,’ भट्टराइले भने, ‘१५ मिनेटदेखि १ घण्टासम्म मात्रै पिकिङ इनर्जी दिन सक्ने आयोजनाको संख्या बढी भएको भए पनि भारतबाट हुने आयात घटाउन सकिने थियो ।’

विद्युत् प्राधिकरणले निर्माण गरेका कालिगण्डकी, मस्र्याङ्दी, मध्य मस्र्याङ्दी, चमेलिया अर्ध जलाशययुक्त (पिआरओआर) आयोजना हुन् । यी आयोजनाले प्राधिकरणलाई साँझ, राति, र बिहानको उच्च माग धान्न सहयोग गरिरहेका छन् ।

यसबाहेक रिजर्ब आयोजनाको रुपमा ६० मेगावाटको कुलेखानी, ३२ मेगावाटको कुलेखानी दोस्रो र १४ मेगावाटको कुलेखानी तेस्रोले काम गरिहरका छन् । असाध्यै अप्ठेरो परेको बेला कुलेखानीको जलाशयबाट पानी छोडेर निकालिएको बिजुलीले माग र आपूर्तिलाई सन्तुलित गराउन प्राधिकरणलाई सघाउने गरेको प्रमुख भट्टराइले बताए ।

चिलिमे, भोटेकोसी, खिम्ती, अपर मस्र्याङ्दी र मादी जस्ता आयोजना पनि हिउँदमा उत्पादन खासै नघट्ने आयोजना भएकोले माग धान्न सघाएको छ । ‘२५ मेगावाट क्षमतासम्मका धेरै जसो आयोजनाको उत्पादन घटेर ३÷४ मेगावाटमा झरेको छ,’ उनले भने ।

वर्षा नहुँदा उत्पादन झनै घट्यो
यो वर्ष माघ महिना आधा वित्न लाग्दा समेत हिउँदे पानी परेको छैन । गत वर्ष यो समयमा बेला बेला पानी परेकाले नदी प्रवाही आयोजनाको विद्युत् उत्पादन बढेको थियो । जसले गर्दा भारतबाट हुने आयात घटाउन सहयोग पुगेको थियो । वर्षा नभए पनि चिसो कम हुँदै गएको र बढ्दो तापक्रमका कारण चाँडैदेखि हिउँ पग्लिन थाल्ने र नदीमा पानीको बहाब बढ्ने आशा भने गर्न सकिने प्रमुख भट्टराईले बताए ।

विद्युत अभाव छैन
अहिले नेपाललाई आवश्यक पर्ने जति विद्युत भारतबाट ल्याउन सकिने अवस्था रहेको प्रमुख भट्टराईले जानकारी दिए । ढल्केबर–मुजफ्फरपुर ४०० केभि प्रसारण लाइनबाट मात्रै ३५० मेगावाटसम्म विद्युत् आयत गर्न सकिने सम्झौता छ । आवश्यक पर्दा त्यसमा १५ प्रतिशतसम्म बढाउन सकिने भनिएको छ ।

यसबाहेक दुहबी–कटैया प्रसारण लाइनबाट २ सय, रक्सौलबाट ८०, रामनगरबाट ५० र टनकपुरबाट ८० मेगावाट विद्युत आयात गर्न सकिने व्यवस्था छ । यस्ता ११ अन्तरदेशीय प्रशारण बिन्दुबाट नेपालमा विद्युत् ल्याउने गरिएको छ ।

त्यसो हुँदा नेपाललाई आवश्यक विद्युत् आपूर्तिमा सहज देखिएको छ । लोडसेडिङ गर्नुभन्दा र नेपालमा डिजेल प्लान्ट वा जेनेरेटर चलाएर विद्युत् निकाल्नुभन्दा भारतबाटै विद्युत् ल्याएर उपभोग गर्दा हुने फाइदा धेरै रहेकाले विद्युत् आयात गर्दैमा पछुताउनु पर्ने अवस्था नरहेको उनी बताउँछन् ।

गुणस्तरीय विद्युत्का लागि प्रसारण र वितरण सञ्जाल नाजुक
गुणस्तरीय वा भरपर्दो विद्युत् उपभोगका लागि भने नेपालका प्रशारण सञ्जाल तथा वितरणको सञ्जालको अवस्था भने नाजुक छ । ‘कहिँ ओभरलोड भएर ट्रान्समिटर पड्कििन्छ, कतै आगो लाग्ने भार प्रेषण केन्द्रका प्रमुख भट्टराई बताउँछन् । प्रशारण लाइन, ट्रान्फर्मर, वितरण लाइनको भार बहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा यस्तो समस्या आउँछ ।

यसकालागि नयाँ लाइन निर्माण तथा ट्रान्सफर्मरको क्षमता बढाउनु पर्ने भएपनि यसका लागि धेरैतिरबाट अवरोध हुने गरेको अनुभव उनले सुनाए ।

बिजुली सबैलाई चाहिने भएपनि प्रशारण लाइन, वितरण लाइन, ट्रान्सफर्मर स्तरोन्नतीलगायतमा स्थानीय बासिन्दाबाट अवरोध हुने गरेको उनले बताए । चालू अवस्थामा रहेको प्रशारण तथा वितरण लाइनका आयोजना पनि अनेक कारणले समयमा सम्पन्न नहुँदा भरपर्दो विद्युत् सेवामा भने अवरोध भइरहेको उनले बताए । सडक, ढक, बे्रकर, पुललगायत पूर्वाधार निर्माणका कारण समेत विद्युत् सेवामा अवरोध हुने गरेको छ ।

ठूलो प्रसारण तथा वितरण सञ्जाल भएकाले अनेक प्राविधिक समस्या आउने गरेको छ । भट्टराई भन्छन् ‘एकछिन विद्युत् जाँदैमा सामाजिक सञ्जालमा रोइलो गर्ने तर वास्तविकता बुझेर प्राधिकरणलाई सघाउन नलाग्ने गरेकाले समस्या बढी देखिएको हो ।’
पछिल्लाे समय खासगरि प्राधिकरणकाे कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएपछि लोडसेडिङ हुने क्रम बढेको भन्दै चौतर्फी गुनासो बढेको छ । तर प्राधिकरणले भने भुमिगत प्रसारण लाइन निर्माण, ट्रान्सफर्मरको स्तरोन्नती लगायत कारणले केहीबेर विजुली जाने भएपनि यो लोडसेडिङ नभएको बताउँदै आएको छ ।

प्रतिक्रिया