बिहीबार वडास्तरीय विराेध प्रदर्शनमा सहभागि हुन कांग्रेसको आग्रह

नेपाली कांग्रेसले बिहीबार हरेक पालिकाको वडा वडामा संसद विघटनविरुद्ध प्रदर्शन गर्ने भएको छ । यसअघि निर्धारित विरोध प्रदर्शन कार्यक्रममा सक्रिय सहभागि भएर संसद विघटन विरुद्ध ऐक्यवद्धता प्रकट गर्न हुन काँग्रेसले नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ – ‘के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६ हजार ७ सय ४३ वडामा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।’

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ वटै पालिकामा विरोध प्रदर्शन गरेको थियो । ती विरोध प्रदर्शन सफल भएको भन्दै र बिहीबारको प्रदर्शन पनि सफल बनाउन सभापति देउवाले आग्रह गरेका छन् ।

संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावनाविपरीतको कार् विरुद्ध नेपाली कांग्रेस एकमत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया