बक्यौता विवरण सार्वजनिक नगरे उखु किसानले फेरि आन्दोलन गर्ने

  • सृष्टि नेपाल

काठमाडौं । उखु किसानलाई चिनी मिल सञ्चालकले तिर्न बाँकी रकम तिर्ने सम्बन्धि पछिल्लो सम्झौताको म्याद सकिएपनि किसानले सबै रकम अझै पाएका छैनन् । सम्झौतामा उल्लेखित मिति नाघिसक्दा समेत किसानले बर्षौँदेखिको बक्यौता अझै नपाएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको किसानले बताएका छन् । 

उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले अहिलेसम्म किसानले पाउनुपर्नेमध्ये कति बक्यौता उठ्यो भन्ने भने यकिन विवरण प्राप्त नभएको र बुधबार बेलुकासम्म प्रत्येक किसानले पाउनुपर्ने रकम र पाएको रकमको विवरण सार्वजनिक नगरिए अर्को आन्दोलन घोषणा गर्ने चेतावनी दिए । ‘आज साँझसम्म किसानको बक्यौता विवरण सार्वजनिक गरिएन भने भोलि दोस्रो चरणको आन्दोलन घोषणा गर्छौँ’, उनले मकालु खबरसँग भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको जानकारी अनुसार उखु किसानले पाउनुपर्ने ६५ करोड ३१ लाख रुपैयाँमध्ये सम्झौता अवधिमा ५७ करोड २० लाख रुपैयाँ भुक्तानी भइसकेको र अब ८ करोड १ लाख रुपैयाँ मात्रै भुक्तानी हुन बाँकी छ ।
तर संयोजक मिश्र भने कुन किसानले कति पाउनुपर्ने हो, उसले अहिले कति पायो भन्ने विवरण सार्वजनिक नगरिएका कारण सरकारको तथ्यांकमा विश्वास गर्न नसकिने बताउँछन् । सरकारले यसको विस्तृत विवरण बुधबार बेलुकासम्म सार्वजनिक नगरे आन्दोलन गर्नुको विकल्प नहुने उनको भनाइ छ ।

मन्त्रालयले भने किसान र उद्योगीको दाबी नमिलेकाले यसको यकिन विवरणका लागि प्राविधिक समिति गठन गरि समितिले काम थालिसकेको जनाएको छ । भुक्तानी हुन बाँकी रकम किसानको खातामा पुर्याउने कोशिस भइरहेको जनाएको छ ।

उखु मिलहरुले बक्यौता भुक्तानी नदिएको भन्दै किसानहरु मंसिर २८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका थिए । २१ दिनभित्र चिनी मिलले बक्यौता भुक्तानी गर्ने सहमति सरकारले गरेपछि उनीहरुले आन्दोलन स्थगित गरेका थिए । सम्झौतामा उल्लेखित २१ दिनको म्याद गएको सोमबार सकिएको छ ।

कुन मिलको बक्यौता कति बाँकी ?

उखु किसानले आन्दोलन सुरु गर्ने समय चिनी उद्योगको ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रहेकोमा सम्झौता अवधिमा ५७ करोड ३० लाख बक्यौता रकम भुक्तानी भइसकेको सरकारको दाबी छ । यसको विस्तृत विवरण उपलब्ध गराउनुपर्ने किसानको माग छ ।

उद्योग बाणिज्य मन्त्रालयका अनुसार श्रीराम सुगर मिलले ३५ करोड बक्यौता रकम सबै भुक्तानी गरिसकेको छ । यस्तै, अन्नपूर्ण चिनी उद्योगले १७ करोडमध्ये १० करोड ८८ लाख बक्यौता रकम दिइसकेको छ भने १ करोड ७६ लाख रुपैयाँ किसानको खातामा जम्मा गरिसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख बक्यौता रकम दिनुपर्नेमा हालसम्म ५ करोड १६ लाख मात्रै भुक्तानी गरेको छ । यस्तै, इन्दिरा सुगर मिलले ४ करोड ७० लाखमध्ये १ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

प्रतिक्रिया