अन्तर्राष्ट्रिय व्यापार सहज गर्न आउँदो साताबाट एकद्वार प्रणाली

काठमाडौं । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आउँदो सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो ।

विभागका अनुसार तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिनेछ,  जसमा सरकारी र निजी क्षेत्र रहनेछन् ।

भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ता विभाग तथा कार्यालयहमा पुगिराख्नु पर्ने छैन । पेपरवर्क (कागजी काम) हुने छैन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए ।

कृषि तथा पशुपन्छी विकास पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सबै निकायमा पूर्ण रुपमा लागू गर्ने बताइन् ।

राजस्व सचिव रामशरण पुडासैनीले एकद्वार प्रणालीलेले राजस्व परिचालनमा थप सहयोग पुर्याउने बताए ।

प्रतिक्रिया