रासायनिक मल कारखाना खाेल्न छलफल सुरू

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न गृहकार्य सुरु गरिएको छ । मल कारखाना स्थापना गर्ने विषयमा बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बैठक समेत बसेको छ ।

बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागतबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे छलफल भएको छ ।

अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गर्ने मन्त्रीहरुसँग बताएका छन् ।

गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया