देउवालाई प्रधानमन्त्री स्वीकार्न अप्ठ्यारो छैन : प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’विरुद्ध नेपाली कांग्रेस र आफूहरूका बीचमा समझदारी हुने विश्वास ब्यक्त गरेका छन् । लोकतन्त्र र संविधान रक्षाका लागि आफूहरू जतिसुकै लचिलो हुन पनि तयार रहेको उनको भनाई छ ।

प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषी धमलालाई अन्तरवार्ता दिँदै प्रचण्डले संविधान र प्रणाली बचाउने तथा स्थायित्व र विकास दिने सर्तमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानन्त्री बनाउन आफूलाई केही अप्ठ्यारो नहुने प्रचण्डको भनाइ छ । ‘मुख्य काम संविधान बचाउने हो, फेरि प्रधानमन्त्री म दावी गर्दिनँ,’ प्रचण्डले भने, ‘संसद पुनस्र्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो ।’

प्रचण्डले परिवारका लागि राजनीति गरेको भनी आफूमाथि लागेको आरोपको खण्डन पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै प्रचण्डले यस्तो आरोप निरंकुश तानाशाहले मात्र लगाउन सक्ने बताए ।

उनले भने ‘अब म निसन्तान भइनँ त मेरो दोष हो र ? केपी जी निसन्तान हुनुभो । उहाँले अब छोराछोरी भन्न परेन,’ प्रचण्डले अगाडि भने, म निसन्तान भइनँ । मेरा छोराछोरी भए नातिनातिना छन् । ज्वाईँ छन् । यो मेरो दोष हो र ?’

आफ्ना छोरीछोरी भएकै कारण उनीहरुले सुविधा नलिएको तर्क गर्दै अध्यक्ष प्रचण्डले यद्धमा होमिएर कीर्तिमान कायम गरेपछि जनताले रुचाएको दाबी गरे । ‘मेरो छोराछोरी भएकै हुनाले नै चाहिँ सुविधा ल्या छन् त कहीँ ? हिजो विद्रोह र युद्धमा मर्न हिँडेका मान्छे हैनन् यिनीहरु ? मेरो छोरी भन्नुस् चाहे बुहारीहरु भन्नुस् । यी सबै लडाइँमा थिए नि त, जेलनेल यातना भोगेर आएका होइनन् ?’ प्रचण्डले प्रश्न गरेका छन् ।

क्रान्ति कायम राख्न आफ्ना छोरीछोरीले ठूलो योगदान गरेको प्रचण्डको जिकिर छ । ‘कोही भैरवनाथ गणमा तीन वर्ष लापत्ता भए, कोही रोल्पा रुकुमका पाखापखेरामा दौडिए र उनीहरु चुनावमा जितेर आए,’ उनले भने, ‘अहिले त्यस्तो पनि भन्न मिल्छ ? त्यसमा मेरो के दोष ?’

प्रतिक्रिया