मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचार

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा उनले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको स्पष्ट गरे। “संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो”, उनले भने, “कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।”

पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेकामा अहिले त्यो प्राप्त भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको भनाइ थियो ।

पूर्व राज्यमन्त्री दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त
उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् ।

यसअघि दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् । गत संसदीय चुनावबाट एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो । त्यसपछि भने २०७५ मङ्सिरमा उनले उद्योग मन्त्रालयमा राज्यमन्त्रीका रूपमा प्रवेश पाएका थिए ।

उद्योग राज्यमन्त्री हुँदा गरेको कामको मुल्यांकन गर्दै उनलाई सल्लाहकारमा नियुक्त गरिएको हो ।

१५ माघमा मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले आगामी १७ र २७ बैशाखमा घोषित आम चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग आइतबार छलफल गरेको छ ।छलफलका क्रममा आयोगले आगामी १५ माघमा मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए ।

|निर्वाचन आयोगको कार्यालय, कान्तिपथ। तस्वीरः विकास अर्याल, मकालु खबर|

‘मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम शुरु भएको छ’, प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘त्यो कार्यक्रमअन्तर्गत स्थानीयदेखि केन्द्रसम्म अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन हुन्छ । अद्यावधिक गर्ने सन्दर्भमा माघको १५ गते सबै त्यो स्थानीय तहको मतदाताको नामावली प्रकाशन गरिन्छ । त्यसमा पनि कुनै त्रुटि भए सच्याउने, दोहोरो नाम परे हटाउने, झुटा विवरणहरु भएमा हटाउने, मृत्यु भएको व्यक्ति र बसाइ सरेर गएका व्यक्तिहरुको विवरण सच्याउने हटाउने १५ देखि २१ सम्ममा सम्पन्न हुन्छ । १५ गते चाहिँ मतदाता नामावलीको त्यो स्थानीय तहको केन्द्रमा प्रकाशन गरिन्छ ।’

यता राजनीतिक दलका प्रतिनिधिहरुले भने मतदान केन्द्रको विषयमासमेत छलफल भएको बताएका छन् । छलफलमा सहभागी दाहाल–नेपाल नेतृत्वको नेकपा नेता राजेन्द्र पाण्डेले उल्लिखित विषयमाथि छलफल भएको बताउँदै अहिल्यै चुनाव हुने अवस्था नरहेकोले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताए । गत ५ पुषमा प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १७ र २७ बैशाखको लागि चुनावको मिती तोकेकी छन् ।

४०० जना निको हुँदा थप २६६ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा देशभर २६६ जना कोरोना भाइरस ९कोभिड १९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९आइतबार० ४ सय संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । यस्तै आज क्वारेन्टिनमा २२१ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ९१९ रहेको छ ।

आजको थप अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये २ लाख ६१ हजार ४४४ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुर्त–अमुर्त सम्पदा संरक्षणमा काठमाडौं महानगरपालिका एकाग्र छ : मेयर शाक्य
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सम्पदाको संरक्षणमा महानगरपालिका एकाग्र भएको बताएका छन् । आज (आइतबार) वडा २१ लगनटोलस्थित कीर्ति पुण्य महाविहार आँग छेँंको शिलान्यासका क्रममा यस्तो बताएका हुन् ।

‘काठमाडौं ऐतिहासिक र सांस्कृतिक सहर हो । यहाँ लामो समयदेखि जीर्ण बनेका सयौँ सम्पदा छन् । तिनीहरुमध्ये केही सम्पदाहरुमा स्वामित्वको विवाद छ’, मेयर शाक्यले भने, ‘केहीमा निकायगत समन्वयको अभाव छ । यी सम्पदालाई यत्तिकै छोड्ने हो भने जीर्ण सम्पदा भग्नावशेषमा रुपान्तरण हुन्छन् । हामी त्यस्तो अवस्था हेर्न सक्दैनौँ ’

यस्तै उनले नेवार समुदायको परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जोगाउने काम गुठियारहरुले गरिरहेको भन्दै उनीहरुको जाँगरलाई प्रोत्साहन गर्नु सरकारको दायित्व भएको बताए । उनले भने, ‘यसमा हामी जिम्मेवार छौँ । हाम्रो लगानी र प्रयासबाट महानगरवासी थप आशावादी बन्नुभएको मैले महसुस गरेको छु ।’

केपी ओलीले ठूलो षड्यन्त्र गरे: प्रचण्ड
सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरी ठुलो षड्यन्त्र गरेको आरोप लगाएका छुन् ।

|पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्वीरः मकालु खबर|

राष्‍ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रम ओलीमाथि यस्तो आरोप लगाएका हुन् । बैठकमा उनले भनेका छन्( ‘केपी ओलीजीले संविधानमाथि प्रहार गरेर ठुलो षड्यन्त्र गर्नु भएको छ । यसकारण अहिले हामी आक्रामक हुनुपर्ने देखिएको छ । हाम्रो आन्दोलन पनि जुझारु हुन जरुरी छ ।’

यस्तै उनले संविधानको मूल मर्ममाथि प्रहार भएको बेला आफूहरु रमाइलो गरेर चुप बस्न नसक्ने बताए । ‘संविधानको हत्या हुँदा हाँसेर बस्न सक्दैनौँ । हामी मजाकको मुडमा छैनौँ’, प्रचण्डले भने ।

१० महिनापछि खुले काठमाडौँका विद्यालय

कोभिड-१९ संक्रमणको जोखिमका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भइ विद्यालय सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् ।

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु
नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेक कम्पनी मिलेर बनाएको कोरोनाविरुद्धको उक्त खोप लगाएका १३ जनाको खोप लगाएको केही समयमै साइड इफेक्ट देखिएको र उपचारको क्रममा मृत्यु भएको नर्वेको पत्रिका दी लोकलले जनाएको छ ।

यस्तै १० जनाको पनि खोप लगाएको केही घण्टामै मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा अधिकांश ८० वर्ष उमेर समूहका रहेका छन् भने त्यस्ता व्यक्तिहरुको लागि उक्त खोपको प्रयोग उच्च खतरनाक रहेको समाचारमा उल्लेख गरिएको छ । सामान्य ज्वरो आएका व्यक्तिलाई केही मात्र असर देखिएपनि गम्भीर अवस्थाका बिरामीलाई भने खोप घातक रहेको नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले बताएका छन् ।

यस्तै चिकित्सक हार्टेमोले खोपको स्वरुप परिवर्तन गरिएको बताएका छन् । खोप निर्माता फाइजरले घटनाबारे नर्वे मेडेसिन एजेन्सीसँगको समन्वयमा अनुसन्धान भइरहेका जनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र बागमती प्रदेश विजयी

राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस्तै आइतबारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बाग्मतीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

आर्मीले लगातार जित निकाल्दा कर्णाली प्रदेशले पराजयबाट प्रतियोगिताको सुरुवात गरेको छ । आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले मात्र १ सय १५ रन जोड्न सक्यो । ३३।३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदा प्रतियोगिता पराजयबाट सुरुवात गर्न पुगेको हो । जवाफी ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रनको पारी खेल्दा ओपनर हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रनको दोहोरो स्कोर गरे ।

यस बाहेकका ब्याट्सम्यानले दोहोर अंकको स्कोर गर्न सकेनन् । कर्णालीको इनिङ्सलाई रोक्न आर्मीका सुशान भारीले सर्वाधिक ४ विकेट निकाल्दा शहब अलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट आफ्नो नाममा लेखाए । ६ ओभर बलिङ गरेको जितेन्द्र मुखियाले दुई मेडन राख्दै १६ रन खर्चिए ।

वडाध्यक्षमाथि हातपात

हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडाध्यक्ष थापामाथि ढुङ्गाले हानेर गम्भीर घाइते बनाइएको छ । वडाध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढङ्गले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि एक्कासि ढुङ्गामुढा भएको बताए।

सो घटनामा परी वडाध्यक्ष थापासहित तीनजना घाइते भएका छन् । घाइते हुने वडाध्यक्ष थापा, स्थानीय दीपक थापा र मक्क थापा गरी तीनजनाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसभन्दा अगाडि साउन २२ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पर्टी (नेकपा) बीच झडप भएको थियो ।

प्रतिक्रिया