‘अब टाउको फुटेर धेरै फरक पर्दैन’ [भिडिओसहित]

काठमाडौं । विभाजित एक ध्रुवतिर लागेको नेकपाको नेतृत्व गरिरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनपछि ‘कामचलाउ’ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको उपलब्धीमाथि प्रहार गरेको बताएका छन् ।

नेपाली जनताले सात दशक संघर्ष गरेर ल्याएको संविधानमाथि ओलीले एकलौटी रुपमा प्रहार गरेको भन्दै अध्यक्ष दाहालले युवाहरुलाई आक्रोश र आवेगका साथ आन्दोलनमा सहभागी हुन अपिलसमेत गरेका छन् । ‘हामीभित्र आवेग र आक्रोश छ । हाम्रो त्यत्रो उपलब्धीमाथि प्रहार हुँदा हामीभित्र यति आक्रोश हुनु स्वाभाविक पनि हो’, आइतबार काठमाडौंको बुद्धनगरमा सम्पन्न राष्ट्रिय युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भनेका छन्, ‘सबैभन्दा बढी युवाहरुमा नै त्यो हुन्छ । त्यसैले तपाईँहरु अब अगाडि बढ्नुस् ।’


यद्यपि अध्यक्ष दाहालले आफूले युवाहरुलाई समस्यामा पार्नेगरी अगाडि जान आह्वान गनरेको बताए । अध्यक्ष दाहालले भनेका छन्, ‘तर, मैले तपाईँहरु आफैँलाई समस्यामा पर्ने गरी अगाडि जानुस् भन्दै छैन । हामी अगाडिका लिडर जो छौँ । हामी तपाईँहरुको अगाडि उभिएका छौँ । अहिले सबैभन्दा अगाडि बसेर जरुरी पर्यो भने घेरा तोड्नुपर्यो भने हामी सबैभन्दा अगाडि हुन्छौँ । हाम्रो टाउको फुटेर धेरै फरक अब पर्दैन । तपाईँहरुको टाउको नफुटोस् भन्नेतिर हाम्रो ध्यान छ ।’

अध्यक्ष दाहालले आफूहरु हँसिमजाक गर्ने स्थितिमा नरहेको पनि बताएका छन् । ओलीप्रति इङ्गित गर्दै अध्यक्ष दाहालले भनेका छन्, ‘केही साथीहरुलाई चाहिँ हाँसो फैलाउने, कमिक गर्ने बेलाजस्तो लागेको छ ।’

शनिबार काठमाडौंको तीनकुनेको रोयल बैङ्क्वेटमा सम्पन्न प्रदेश सम्पर्क समिति प्रदेश नं. १ को बृहत् कार्यकर्ता भेलामा ओलीले गरेको कटाक्षलाई चुनौती दिँदै अध्यक्ष दाहालले भनेका छन्, ‘मलाई पिर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धीको हत्या भयो । बा–आमा मरेपछि परिवारका सबैलाई चिन्ता हुन्छ । त्यो चिन्ताको बेलामा हामी हाँस्न सक्दैनौँ ।’

आन्दोलनलाई जनताको उत्सवको रुपमा अर्थ्याउँदै अध्यक्ष दाहालले आफूहरु गणतन्त्रवादी आन्दोलनमा सरिक रहेको बेला ओलीले नेपाललाई गणतन्त्र फाप्दैन भन्दै रुँदै बयलगाडाको कथा सुनाउँदै गरेको बताए । ‘जनताको लागि गणतन्त्रको आन्दोलन, समावेशीताको आन्दोलन, समानुपातिकताको आन्दोलनमा जनता आफैँ आए । जनता सडकमा आउने भनेको उच्च हो । मार्स्कदेखि माओत्सेतुङसम्म अन्तराष्ट्रिय सर्वहारा जनताका नेताहरुले आन्दोलन भनेको जनताको उत्सव भनेका छन् । हिजो हामी जनताको उत्सवमा नाँचेका थियौँ । हामी आन्दोलित थियौँ । आवेगमा थियौँ, जोसमा थियौँ । तपाईँ रुँदै हिँड्नुभएको थियो त्यो बेला । बयलगाडाको कथा हाल्दै हुन सक्दैन भन्दै हुनुहुन्थ्यो । जतिबेला जनता र युवाहरु उत्साहित भएर गणतन्त्रवादी आन्दोलनमा सरिक भइरहेका थिए ।’

गत ५ पुषमा प्रतिनिधि सभा विघटन भएपछि अहिले नेपालको राष्ट्रिय राजनीति सडक केन्द्रित छ । शीर्ष नेताहरुबीच कार्यकर्ता भेलामा सहभागी हुने होडबाजी चलेको छ ।

प्रतिक्रिया