आन्दोलनमा सक्रिय हुन युवाहरुलाई प्रचण्डकाे निर्देशन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएका छन् ।

लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर आफूहरु माथि आक्रमक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको भन्दै आवेश र आक्रोश सहितको जुझारु आन्दोलन गर्न प्रचण्डले युवाहरुलाई निर्देशन दिएका हुन् । आन्दोलनमा युवाहरु मात्रै नभई अग्रमोर्चामा आफू पनि सहभागी हुने उनकाे भनाइ छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै हिँडेको टिप्पणी समेत गरे । प्रधानमन्त्री ओलीले एकताको बेलाका सिद्धान्तलाई अतिक्रमण गरेको तथा पार्टीको संगठनात्मक मुल्यमान्यता बाहिर गएको उनकाे भनाइ छ । आफूहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष प्रचण्डले बताए । आफूहरु माक्र्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफूहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्त प्रति प्रतिबद्धता रहेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया