सबै स्थानीय तहमा कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो ।

गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपिल गरेका छन् । विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु ।’

संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसविरुद्ध कांग्रेस एक्लै संघर्षमा छ ।

प्रतिक्रिया