परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक

काठमाडौं । भारतको नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजदेखि औपचारिक बैठक र छलफलमा सहभागि हुँदैछन् । नेपाल-भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली पुगेका हुन् ।

भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च राजनीतिक नेताहरूसँग पनि भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच आज बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ ।

नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड-१९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ ।

भारतले नेपाललाई दिने कोभिड-१९ विरुद्धको खोप अनुदान पनि आजै घोषणा गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया