मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

‘चुनावको माहोल बनाउनुस्’
प्रतिनिधि सभा विघटन भएपछि ‘कामचलाउ’ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका स्थायी समिति सदस्यहरुलाई चुनावको माहोल बनाउन निर्देशन दिएका छन् । बिहीबार माघे संक्रान्ति मनाउन भनेर बालुवाटार बोलाइएका सदस्यहरुलाई ओलीले १७ र २७ बैशाखमा तय भएको आम चुनावको माहोल देेेशैैैभर बनाउन निर्देशन दिएका हुन् ।

संसदीय दलका उपनेता सुवास नेम्वाङ्गका अनुसार प्रधानमन्त्री ओलीले आ–आफ्नो क्षेत्रमा चुनावी माहोल बनाउन निर्देशन दिएका हुन् । भेटमा सर्वोच्चमा परेको रिटको सुनुवाइको विषयमासमेत साधारण छलफल भएको छ ।

बुधबार मात्रै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर चुनावका आगामी कार्यक्रम अघि नबढाउन आग्रह गरेका थिए । जवाफमा आयोगले सर्वोच्च अदालतले निर्देशन दिएको खण्डमा थप कार्यक्रम अगाडि नबढाउने बताएको थियो ।

ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् : बाबुराम
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघे संक्रान्तिको शुभकामनामा पनि भष्मासुरकै प्रसंग जोडेका छन् ।

उनले सबै समुदायले उत्साह साथ मनाउने सांस्कृतिक पर्व माघीरमाघेसंक्रान्तिरमकर संक्रान्तिको उपलक्ष्यमा कलियुगको भष्मासुर परास्त गर्ने शक्ति मिलोस भनी शुभकामना दिएका हुन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले ट्विटरमार्फत भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भनी शुभकामना दिए ।

काठमाडौं केन्द्रित विरोधलाई व्यापक बनाउने प्रचण्ड–माधव समुहको निर्णय
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

आन्दोलन अघि बढाउन र आन्दोलनमा ठूलो संख्यामा कार्यकर्ता उतार्ने गरि विरोध कार्यक्रमको प्रारुपका विषयमा बिहीबारको स्थायी कमिटीको बैठकमा छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय राजधानीमा विरोध प्रर्दशनलाई व्यापक बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेयले जानकारी दिए ।

निर्वाचन आयोगलाई थप प्रष्ट पारी पत्र पठाएको जानकारी दिँदै प्रधानमन्त्री केपी ओली पक्षको दाबीको अर्थ नभएको अध्यक्ष माधवकुमार नेपालले बताए ।

निर्वाचन आयोगसँग ओलीको आग्रह–कसैको सामग्री अभिलेखीकरण नगर्नु
केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल नेतृत्वको दुवै नेकपाले निर्वाचन आयोगलाई दाबीसहित जवाफ फर्काएका छन् । यसअघि पनि आयोगकै अनुरोधमा दुवै नेकपाले दाबीसहितको पत्र पठाएका थिए । तर, अयोगले दुवै पत्रमा आउनुपर्ने ‘तथ्य दाबी’ नआएको भन्दै पुनः दोस्रो पटक दाबीसहित जवाफ फर्काउनु भनेको थियो ।

सोहीबमोजिम बुधबार दुवै नेकपाले पत्रमार्फत् आफू वैधानिकरआधिकारिक भएको दाबी पठाएका छन् । ओलीले ११ पृष्ठ लामो पत्र लेख्दै नेकपा विभाजन भइनसकेको र आफू नै पहिलो अध्यक्ष रहेको जिकिर गरेका छन् । सँगै उनले अध्यक्षको हैसियतमा आयोगलाई अरुले पठाएको दस्तावेजहरु अभिलेखीकरण नगर्न आयोगलाई आग्रह गरेका छन् ।

ओलीले पत्रमार्फत् भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रथम अध्यक्ष र प्रमुख पदाधिकारीको हैसियतले मैले पठाएका विवरणहरु सूचीकृत गर्न र अन्य कुनै पनि अनाधिकृत तथा असम्बन्धित व्यक्तिले पार्टीको नाममा पठाएको भनिएका कुर्नै पनि विवरणहरु अभिलेखीकरण गर्न नमिल्ने व्यहोरा स्पष्ट गर्न चाहन्छु ।’

बिहीबार थपिए ४०३ संक्रमित
पछिल्लो २४ घण्टामा देशभर ४०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) ४०५ जना संक्रमित निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ ।

आज क्वारेन्टिनमा २३१ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ४ हजार ४२६ रहेको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

संक्रमितमध्ये २ लाख ६० हजार १७७ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९४३ पुगेको छ ।

परराष्ट्रमन्त्री भारत प्रस्थान, नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा निस्केका छन् । मन्त्री ज्ञवाली बिहीबार बिहान भारतको भ्रमण निस्केका हुन् । उनी शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका छन् ।

बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यस्तै नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने छन् । भारतकातर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्ने कार्यक्रम छ । भ्रमण सकेर माघ ३ गते मन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ ।

विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द लगायतका संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेपछि विप्लव समूहले बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको हुन् ।

विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

विज्ञप्ति अनुसार, माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम छन् ।

दि भ्वाइसको कोच फेरि परिवर्तन,आस्थाको स्थानमा तृष्णा
गायक गायिकाको खोजी गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेश्रो सस्करणमा एकजना कोच परिबर्तन गरिने भएको छ । हिमालय टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रममा महिला कोचको रुपमा तृष्णा गुरुङ रहनेछन् ।

कार्यक्रम ब्यवस्थापन पक्षले कार्यक्रम गरि यसबारे जानकारी गराएको हो । कार्यक्रम अबको एकदेखि डेढ महिनामा शुरु हुने पनि कार्यक्रममा जानकारी दिइएको छ । पहिलाका दुई सिजनमा झैँ यो सिजनमा पनि महिला कोच परिवर्तन गरिएको हो । पहिलो सिजनमा कोच अभया सुब्बा र सनुप पौडेललाई हटाएर राजु लामा र आस्था राउत भित्रिएकी थिइन् । तेश्रो सिजनमा आस्था समेत् टिमबाट बाहिरिएकी छन् ।

कार्यक्रमबारे जानकारी दिन गरिएको कार्यक्रममा परिवर्तन सामान्य भएको बताइएपनि केही समयअघि प्रहरीसँगको विवादका कारण आस्थालाई हटाइएको चर्चा चलिरहेको छ । त्यसो त ‘ दि भ्वाइस अफ नेपाल’ विवादरहित कार्यक्रम भने होइन । शोका पहिलो विजेताले घोषणा अनुसार पुरस्कार रकम नपाएको भनेर पटक पटक सामाजिक सन्जालमा पोस्ट गरेका थिए । त्यस्तै शोबाट बिना कुनै जानकारी हटाइेको भनेर सुब्बा र पौडेलले समेत् असन्तुष्टी जनाएका थिए । कोचको रुपमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल भने परिवर्तन भएका छैनन् । कार्यक्रमको मार्केटिङ ‘एस मिडीया एण्ड मार्केटिङ’ले गर्नेगरि सम्झौता भएको छ ।

दोस्रो पटक ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रोपटक महाभियोग प्रस्ताव पारित गरेको छ । योसँगै अमेरिकी इतिहासमै ट्रम्प दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् ।  अघिल्लो हप्ताको बुधबार अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उनीविरद्ध ट्रम्पकै पार्टीका सांसदहरुसमेत चिढिएका थिए ।

महाभियोगको सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको बताइएको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । त्यहाँको हाउस अफ रेप्रिजेन्टेटिभ्स्मा डेमोक्र्याट पार्टीका २२२ जना सदस्य रहेका छन् ।
तर त्योभन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिएकी त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उनीविरुद्ध महाभियोग पारित गरेको थियो ।

ट्रम्प सन् २०२० को राष्ट्रपतिय चुनावमा जो बाइडेनसँग पराजित भएका छन् । जसमा आगामी २० जनवरीबाट बाइडेनले अमेरिकाको राष्ट्रपति जिम्मेवारी सम्हाल्दैछन् । त्यसभन्दा अगाडि नै ट्रम्पले हिंसा हड्काउने भन्दै सांसदहरुले महाभियोग प्रस्ताव पारित गरेका हुन् ।

बार्सिलोना सुपर कपको फाइनलमा
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुग्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोनाले फाइनलमा प्रवेश गरेको हो । स्पेनको कोर्डोबामा रहेको नुभो आकन्जेल रंगशालामा भएको खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो । खेलको ३९औँ मिनेटमा बार्सिलोनाका लागि फे्रन्की डी जोङले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए ।

५१औँ मिनेटमा रियल सोसिडाडका लागि माइकेल ओयरजाबलले बराबरी गोल गरे । त्यसपछि अतिरिक्त समयमा समेत कुनै पक्षबाट गोल नहुँदा खेल टाइब्रेकरबाट पुगेको थियो । टाइब्रेकरबाट बार्सिलोनाले ३–२ ले जित हात पार्न सफल भयो । एन्टोनी ग्रिजम्यान र पहिले गोल गरेका फ्रेन्की डी जोङले पेनाल्टीमा गोल गर्न सकेनन् । बार्सिलोना यस खेलका नियमित कप्तान मसीबिना मैदानमा उत्रिएको थियो ।

सुपरकपको साबिक विजेता रियल मड्रिडले दोस्रो सेमिफाइनलमा एथ्लेटिको बिल्बाओसँग खेल्नेछ । सो खेलको विजेताले उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया