ओलीलाई अनेरास्ववियूकाे अनुराेध : ‘संविधान पढ्न ल क्याम्पस आउनुस्’

काठमाडाैं । सत्तारूढ नेकपाका नेपाल-दाहाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेकाे छ ।

बुधबार प्रचण्ड–माधव पक्षीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको हो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका सह– संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम चालेको आरोप लगाए । संविधानको सहि व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधिशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनकाे भनाइ छ ।

यस्तै अनेरास्ववियुका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नदिएको बताए । प्रधानमन्त्री ओलीलाई संविधानले धेरै दिन बालुवाटार बस्ने अधिकार नदिएको उनको भनाइ छ ।

अनेरास्ववियूले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ । असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ ।

प्रतिक्रिया