परराष्ट्रमन्त्रीको भारत भ्रमणका मुद्दा के ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार छिमेकी देश भारतको भ्रमणमा निस्कँदैछन् । मन्त्री ज्ञवालीको भ्रमण खासगरी कोभिड उन्नाइस निदानको सहकार्य र नेपाल–भारत सीमासहितका विषयमा केन्द्रित हुने नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यता नेपालमा प्रतिनिधि सभाको विघटनपछि विभिन्न खालका राजनीतिक घटनाक्रमहरु विकसित भइरहेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा पनि कहीँ न कतै भारतसँग जोडिएको जानकार तथा विश्लेषकहरुले बताइरहेका छन् ।

ठीक यत्ति नै बेला परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमण गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

भ्रमणका मुद्दा
मन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुनै पुग्ने भएकाले भेटघाटका क्रममा नेपाल–भारत सम्बन्धका सयौं आयामका बारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जनाइसकेको छ ।

जसमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड उन्नाइस सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयमा खास रुपमा भ्रमण केन्द्रित रहने उल्लेख गरिएको छ ।

यसअघि मन्त्री ज्ञवालीको भारत भ्रमणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सार्वजनिक रुपमा जानकारी गराएका थिए । जहाँ ओलीले भनेका थिए, ‘खासगरी अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरालगायतका बारेमा पनि माननीयज्यूको भ्रमणका क्रममा छलफल हुनेछन् ।’

कूटनीतिक चिसोपन
भारतले गत वर्ष नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारत–नेपाल कूटनीतिक सम्बन्धमा चिसो पसेको थियो ।

तत्पश्चात् नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध त्यति सुध्रिँदो छैन । किनकी, भारतको नयाँ नक्सासँग चिढिएको नेपालले पनि त्यसको केही समयमा नै आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको छ ।

त्यसपछि चिसोपन पसेको नेपाल–भारतको कूटनीतिक सम्बन्ध मन्त्री ज्ञवालीको यो भ्रमणले सकारात्मक दिशामा ल्याउन ठूलो सहयोग गर्ने मन्त्रालयका अधिकारीहले बताएका छन् ।

योबीचमा भारततर्फबाट बाह्य गुप्तचर निकायका प्रमुख, स्थल सेनाध्यक्षसँगै परराष्ट्र सचिवले समेत भ्रमण गरिसकेका छन् भने नेपालतर्फबाट भने मन्त्री ज्ञवालीको यो भ्रमण सबैभन्दा उच्चस्तरको हो ।

प्रतिक्रिया