‘ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो’

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातिएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटार छिरेर ओलीको अन्तरवार्ता लिइ कालापत्थर पुगेर सगरमाथा दावी गर्न भ्याएका जीन्यूज टोलीको हर्कतका कारण ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातिएको नेता गुरुङको तर्क छ ।

नेता गुरुङले आफूलाई राष्ट्रिवादी भन्ने ओली भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटारमा भेट गरेर नाङ्गिएका ओलीलाई उक्त अन्तरवार्ताले केही समयमै पुनः नङ्ग्याएको बताएका छन् ।

नेता गुरुङले बुधबार बिहान आफ्नो आधिकारिक ट्वीटर् ह्याडलमार्फत् लेखेका छन्, ‘गोयलले प्र.म.ओलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्याएपछि  निर्वस्त्र बनेका ओलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जीन्यूजलाई अन्तरवार्ता दिए । तर ओलीले कालापत्थर पुर्याएको जीन्यूज टोलीले सगरमाथामाथि भरतले दावी गर्नुपर्छ भनेपछि ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो ।’

यसअघि गत २६ गते ओलीले बालुवाटारमै बोलाएर भारतीय न्यूज च्यानल जीन्यूजलाई एक अन्तरवार्ता दिएका थिए । अन्तरवार्ताका क्रममा दिएको राष्ट्रवादी अभिव्यक्तिका कारण ओलीको प्रशंसा चुलिएको थियो । तर, कालापत्थरसमेत पुगेको जीन्यूज टोलीले सगरमाथा भारतले दावी गर्नुपर्छ भन्ने तर्क गरेपछि पुनः ओलीमाथि विभिन्न टिका–टिप्पणीहरु हुँदै आएका छन् ।

प्रतिक्रिया