काठमाडौं प्लाजा विनाभाडा व्यापारीको कब्जामा, सात महिनामा चार करोड नोक्सानी

काठमाडौँ । नेपाल ट्रस्टको कमलादीस्थित काठमाडौं प्लाजा पनि सात महिनादेखि व्यापारीको कब्जामा छ । ट्रस्टले न भाडा पाएको छ न भवन खाली गराउन पहल गरेको छ । यसबाट ट्रस्टलाई सात महिनामै झन्डै चार करोड नोक्सानी भएको छ ।

आठ रोपनी एक आना जग्गामा काठमाडौं प्लाजा कन्सेप्ट डेभलपर्सले लिजमा लिएर सञ्चालन गर्दै आएको थियो । उससँगको लिज सम्झौता २ असार ०७७ मै सकिएको छ । तर, सात महिना बित्न लाग्दासमेत कन्सेप्ट डेभलपर्सले भवन खाली गराएको छैन । उल्टै, भवन भाडामा लगाएर पैसा उठाइरहेको छ ।

ट्रस्ट कार्यालयका सहसचिव भुसालले भवन खाली गराउन पटक–पटक पत्राचार गरिएको बताए । कालोसूचीमा राख्ने चेतावनी दिएपछि कन्सेप्ट डेभलपर्सले म्याद थपिदिन निवेदन दिएको छ । तर, पुरानै भाडादर कायम गर्नुपर्ने उसको माग छ ।

हालको मूल्यांकनअनुसार काठमाडौं प्लाजाबाट मासिक करिब ६० लाख भाडा उठ्नेमा कन्सेप्ट डेभलपर्सले वार्षिक ७५ लाख मात्र तिर्दै आएको छ । जब कि उसले व्यवसायीहरूबाट मासिक भाडा करिब ५० लाख उठाउने गरेको छ । नयाँ भाडा लागू हुन नसक्दा ट्रस्टलाई महिनामा करिब ५४ लाख नोक्सान भइरहेको छ । स्रोतका अनुसार कम्पनीका सञ्चालकले एक वर्ष अवधि थपिदिए मुद्दा फिर्ता लिने भन्दै बार्गेनिङ र लबिङ गरिरहेका छन् । सरकारलाई वार्षिक ७५ लाख बुझाउने कम्पनीले महिनामै करिब ५० लाख भाडा व्यवसायीसँग उठाउने गरेको छ ।

यसअघि ट्रस्टले भवन काठमाडौं महानगरलाई मासिक करिब ६० लाख भाडामा दिने सहमति गरिसकेको थियो । तर, कन्सेप्ट डेभलपर्सका पूर्वसञ्चालक सुवासराज काफ्लेले दायर गरेको रिटमा उच्च अदालत पाटनले तत्काल महानगरपालिकासँग सम्झौता नगर्न आदेश दिएपछि रोकिएको थियो । अदालतले महानगरपालिकासँग सम्झौता नगर्न भने पनि लिज अवधि सकिएको भवन खाली गराउन नरोकेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया