मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

मतदातालाई पायक स्थानमा मतदान केन्द्र र स्थल निर्धारण गर्न प्रमुख आयुक्त थपलियाको निर्देशन 

 प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन् ।

मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधिमार्फत जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्यमा विशेष चनाखो हुन सुझाव दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त भएकाले यसको पूर्ण पालना हुनुपर्छ ।” निर्वाचनको घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पूरा मतदाताका सम्बन्धमा द्विविधामा नपर्न तथा मतदाता नामावली निर्वाचन व्यवस्थापनको आधारभूत पक्ष भएकाले शुद्ध र त्रुटिरहित तुल्याउने पाटोमा हेक्का राख्न उनले आग्रह गरे।

मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासँग प्रभावकारी समन्वय गर्न सुझाव दिँदै  उनले जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानूनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन सल्लाह दिए । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदाता दर्ता अद्यावधिक, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे जानकारी गराएका थिए । सचिव देवकुमारी गुरागाईंको अध्यक्षतामा भएको दुईदिने प्रशिक्षणमा आयोगका सहसचिव तथा अधिकृतको सहभागिता थियो ।

कोरोना खोप खरिद र वितरणको तयारी पुरा : स्वास्थ्यमन्त्री

फाेटाे फाइल

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन् । खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको पनि उनले जानकारी गराए ।

खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु भइसक्ने उनले बताए । मन्त्री त्रिपाठीका अनुसार खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने छ । यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने छ ।

‘खोप आउँछ । निश्चित रुपले हामी समयमै लगाउँछौँ र यो अभियानको रुपमा जान्छ । न्यायपूर्ण ढंगले यसको वितरण हुन्छ ।यसका सबै तयारीहरु पुरा भइसकेको अवस्था छ’, मन्त्री त्रिपाठीले भने ।

चीनद्वारा श्वेतपत्र सार्वजनिक, त्रिपक्षीय सहकार्यलाई बढावा दिनुपर्ने निष्कर्ष

|चीनको झण्डा। फाइल फोटो|

चीनले त्रिपक्षीय विकास सहकार्यलाई बढावा दिने लक्ष्यसहित अन्तर्राष्ट्रिय विकास सहकार्यसम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक भएको उक्त पत्रमा एक अर्काको नीति, विचार, मोडललाई सम्मान गर्दै पारस्परिक सम्मान र समझदारीको आधारमा अघि बढनुपर्ने निष्कर्ष निकालिएको छ । त्यहाँ भनिएकोछ, ‘त्रिपक्षीय सहकार्यको उद्देश्य सहयोग प्राप्त गर्ने मुलुकहरुलाई फाइदा दिनु हो । त्यसैले उनीहरुको सार्वभौमसत्ता र उनीहरुको आवाजलाई सम्मान गर्नुपर्छ ।’

खासगरी नेपालमा विकासका परियोजनाहरुमा नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्यको प्रस्ताव चीनले गर्दै आएको छ । यद्यपि यसले गति भने लिएको छैन ।

सोमबार थपिए ४८८ कोरोना संक्रमित, ५२७ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशभर ४८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यस्तै ५२७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।्

मन्त्रालयका अनुसार आज (सोमबार) थप १० जना संक्रमितको मृत्यु भएको छ । आज क्वारेन्टिनमा २३७ जना छन् भने सक्रिय संक्रमित संख्या ४ हजार ३७३ रहेको छ ।

आजको अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । संक्रमितमध्ये २ लाख ५८ हजार ९६८ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९२७ पुगेको छ ।

ओली नेतृत्वको नेकपाको केन्द्रीय समिति बन्यो १५ सय १ सदस्यीय

|ओली पक्षीय सांसदहरुको भेला, बालुवाटार। तस्वीरः प्रधानमन्त्री सचिवालय|

केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय समिति थप विस्तार गरिएको छ । पार्टी विभाजनको स्थितिमा पुगेपछि विधान संशोधन गर्दै १ हजार १ सय ९९ सदस्यीय बनाइएको केन्द्रीय समिति पुनः थप विस्तार गरी १५ सय १ पुर्याइएको हो ।

गत पुष ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गर्दै केन्द्रीय समितिको संख्या थप गर्ने बताएको थियो ।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अन्तरपार्टी निर्देशिका (अपानि)मार्फत् केन्द्रीय समिति सदस्य संख्या १५ सय १ पुगेको जानकारी दिएको छ ।

विराटनगर विमानस्थल विस्तारको काम शुरु, पहिलो चरणको सर्भे सकियो

विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ विगाहा जग्गा अधिग्रहणको काम भईरहेको छ । तथ्यांक संकलन र रोक्का गर्ने तथा नापजाँचको काम अहिले जारी छ ।

विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा रहेको विमानस्थललाई १ हजार ५ सय मिटरबाट बढाइ पहिलो चरणमा २५ सय मिटर पुर्याउने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

विमानस्थल विस्तारमा जग्गाको अधिग्रहण ३ हजार मिटरलाई कायम गरेर गरिएको छ भने विमानस्थलको भाग २५ सय मिटरको पुर्याउने तयारी गरिएको छ ।

क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न विमानस्थलको १२६ दशमलव ४६ विगाहा जमिन अधिग्रहणका लागि सर्भे सम्पन्न भइसकेको बिमानस्थल प्रशासनले जनाएको छ। गत कार्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकले विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६/४६ बिगाहा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

रहेनन् गोलकिपर लोकबहादुर

|पूर्वगोलकिपर लोकबहादुर शाही। फाइल फोटो|

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।

शाहीको दैलेखमा आइतबार राति निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन् ।

नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए ।

वर्ल्ड कोरोना अपडेट : एकैदिन ८ हजार ७ सयभन्दा बढीको निधन

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ४ सय ६३ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकाका रहेका छन् । त्यहाँ अहिलेसम्ममा ३ लाख ८३ हजार २ सय ४२ को मृत्यु भइसकेको छ ।

संक्रमणबाट गत २४ घण्टाभित्र ८ हजार ७ सय ५१ जना संक्रमितले ज्यान गुमाएका छन् । वर्ल्डमिटर्सको तथ्यांकअनुसार सोमबार बिहानसम्ममा १९ लाख ४२ हजार ४ सय पुगेको हो ।

यस्तै हालसम्म विश्वभर ९ करोड ६ लाख ६६ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कूल संक्रमितमध्ये ६ करोड ४७ लाख ९१ हजार ७ सय २९ जना उपचारपछि निको भइसकेका छन् ।

इमरानको आरोप–‘भारतले आईएसआईएसलाई सहयोग गरिरहेको छ’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमा अराजकता पैदा गर्न भारतले आतंकवादी संगठन आईएसआईएसलाई सहयोग गरिरहेको आरोप लगाएका छन् ।

पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार प्रधानमन्त्री खानले इस्लामाबादमा पत्रकारसँग आफ्नो देशको सुरक्षा एजेन्सीले साम्प्रदायिकता फैलाउने भारतको योजनालाई असफल बनाएको बताए ।

उनले चरमपन्थी समूहले कम नागरिकको बसोबास रहेको क्षेत्रलाई निशाना बनाइरहेको पनि बताएका छन् । भारत र पाकिस्तानको सम्बन्ध वर्षौंदेखि चिसिँदै आएको छ ।

प्रतिक्रिया