कोरोना खोप खरिद र वितरणकाे तयारी पुरा : स्वास्थ्यमन्त्री

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन् । खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको पनि उनले जानकारी गराए ।

खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु भइसक्ने उनले बताए । मन्त्री त्रिपाठीका अनुसार खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने छ । यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने छ ।

‘खोप आउँछ । निश्चित रुपले हामी समयमै लगाउँछौँ र यो अभियानको रुपमा जान्छ । न्यायपूर्ण ढंगले यसको वितरण हुन्छ ।यसका सबै तयारीहरु पुरा भइसकेको अवस्था छ’, मन्त्री त्रिपाठीले भने ।

अन्य व्यवसायिक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको पनि उनले बताए । तरपनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको उनी बताउँछन् । उनका अनुसार निजी क्षेत्रलाई पनि खरिद प्रक्रियामा संलग्न गराइनेछ । पत्रकार सम्मेलनमा उनले भनेका छन्- ‘पहिले सरकार-सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउँछाैँ र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्नेछाैँ ।’

खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगिहरुको लागि उपलब्ध गराइने समेत उनले जानकारी दिए ।

‘मुख्य जोखिममा रहेका जनसंख्या ३ प्रतिशत स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगीहरुको लागि र अर्को २० प्रतिशत जनसंख्यामा यस विषयमा तथ्याङ्क संकलन गर्ने कुरा केही पुरा भइरहेको छ भने केही लिने प्रक्रियामा छाैँ’, उनले बताए ।

स्वास्थ्यमन्त्री त्रिपाठीले नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने दाबी गरे । रुस, भारत र युएईका राजदूतहरुसँग खोप ल्याउने सम्बन्धमा कुरा गरिसकेको र खोप उत्पादन गर्ने अन्य मुलुकहरुसँग पनि राजनीतिक पहल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया