सरकारमा बस्नेहरु इमान्दार र बफादार बन्नुपर्छ : राप्रपा अध्यक्ष राणा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । सोमबार पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

श्रद्धाञ्जलीका लागि जुलुस सहित सिंहदरबार पश्चिमगेटस्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताए ।

यस्तै उनले मुलुकका निर्माता पृथ्वी नारायण शाहलाई कदर गर्न आउँदा दमन भएको, सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको समेत बताए । सरकारमा बस्नेहरु राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्ने उनकाे भनाइ छ ।

मुलुकमाथि अत्याचार भएको भन्दै उनले अन्याय र अत्याचार विरुद्ध राप्रपा विरोधमा उत्रिने चेतावनी समेत दिए । नेपालमा हिन्दु धर्म पुर्नस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेकाे उनले औँल्याए  ।

पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।

प्रतिक्रिया