‘प्रतिनिधिसभा विघटनका दोषी प्रचण्ड-माधव पनि’

विराटनगर । नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा विघटनको दोषी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि भएको आरोप लगाएकी छिन् । विराटनगरमा आइतबार दाहाल–नेपाल समूहको अनेरास्ववियु मोरङको शपथग्रहण कार्यक्रममा झाँक्रीले पार्टीका शिर्ष नेताहरूको अकर्मण्यता पनि अहिलेको अवस्थाको मुख्य कारक भएको बताइन् ।

आफू बहुमतमा हुँदाहुँदै ओलीको स्वेच्छाचारी कदम सहेर बस्नु प्रचण्ड र नेपालको मुख्य दोष रहेको आरोप लगाईन् । पहिला प्रधानमन्त्री ओलीको हरेक कदममा उनीहरु पनि साक्षी बसेको स्मरण गर्दै झाक्रीले यो समयमा नेकपाका सबै नेता दोषी रहेको बताईन् ।

‘जुन बेला प्रधानमन्त्रीलाई तह लागाउनु पर्ने थियो, त्यो बेला सबै चुप लागेर बसे’, उनले भनिन्, ‘अहिले आएर प्रतिनिधिसभा नै विघटन गरेर सडकमा पु¥याए ।’ उनले गल्तीलाई गल्ती र सहीलाई सही भन्न सक्नु पर्ने तर्क गरिन् ।

प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमलाई विरोध गर्दै उनलाई हरेक क्षेत्रबाट बहिस्कार गर्नुपर्नेमा जोड दिईन् । अहिलेको अवस्थामा मन्त्री र प्रधानमन्त्रीलाई बहिष्कार गर्नुपर्ने भन्दै झाँक्रीले धुप बालेर र बत्ति बालेर गरिने आन्दोलनले प्रभाव नपर्ने भन्दै कडा आन्दोलनको माग गरिन् । उनले पार्टीको नाम, झन्डा वा चुनाव चिन्ह जता परे पनि त्यसको स्थापित आन्दोलनले गर्ने बताईन् । अहिले नाम, झण्डा वा चुनाव चिन्ह कता पर्ला भनेर मौन बस्नेहरू नै अवसरवादको चरम नमुना भएको उनको भनाई छ ।

प्रतिक्रिया