प्रधानमन्त्रीलाई सांसदको प्रश्न ‘संविधानको घाँटी रेट्नेले निर्वाचन गराउँछ ?’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गरिएकोप्रति आपत्ति जनाउँदै प्रश्न गरेका छन् ।

आइतबारको बैठकमा सांसदहरु अनिता देवकोटा, प्रकाश पन्थ स्नेही, रमेशजँग रायमाझी र प्रमिला कुमारीले संसद विघटन असंवैधानिक भएकाले संसद पुनर्स्थापना हुनुपर्ने माग गरेका हुन् ।

सांसद देवकोटाले आफ्नो सरकार ढल्ने भएपछि संसद विघटन गर्ने प्रधानमन्त्रीले चुनाव गराउने विश्वास गर्न नसकिने बताइन् । ‘आफ्नो सत्ता यात्रा टुँगिंदै गर्दा संसदको घाँटी रेट्न पछि नपर्ने प्रधानमन्त्रीले कसरि चुनाव गराउँछ ?’ देबकोटाको प्रश्न थियो ।

उनले धनगढीमा प्रधानमन्त्री ओली गएको सभामा निर्मला पन्तका हत्यारा खोई लेखेको टिसर्ट लगाएका ब्यक्तिलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै संविधानको मौलिक हक अन्तर्गत धारा १७ पनि विघटन भएको हो ? भन्ने प्रश्न गरिन् ।

सांसद स्नेहीले अहिले चुनाबमा जाउँ भन्नु नहर भत्काएर रोपाईँ गर्न जा भनेजस्तो भएको टिप्पणी गरे । मृत्युपश्चात आँखा दान गर्ने घोषणा गरेको मानिसलाई यो त मर्ने नै रहेछ भनेर आँखा झिक्न नमिल्ने उनको भनाइ छ ।

उनले प्रश्न गरे, ‘संविधान च्यातेर निर्वाचन कसरि हुन्छ ?’ चुनाव त राजाले पनि गर्छु भनेका थिए । असंवैधानिक र खेदजनक कदम चालेका प्रधानमन्त्रीले अब गेस पेपर पढेर नहुने भन्दै उनले संविधान पढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

नागरिकले गुमेको जमिन फिर्ता हाेस भन्ने  चाहेकोमा प्रधानमन्त्रीले नक्शा मात्र बाँडेको भन्दै सांसद स्नेहीले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे–‘जमिन ल्याउन नसकेर संविधान विघटन गर्नुभएको हो ?’

सांसद रमेशजँग रायमाझीले अहिलेको सरकार संविधानको  धारा ७६ (१) अनुसार बनेको भन्ने प्रधानमन्त्री ओलीको भनाइको खण्डन गर्दै सरकार धारा ७ अनुसार बनेको र अर्को सरकार बन्ने संभावना हुँदाहुँदै संसद भँग गर्नु कुनैपनि हालतमा मान्य हुने बताए ।

सांसद प्रमिला कुमारीले नेपालको संविधानप्रति पटकपटक धोका भएको भन्दै प्रधानमन्त्री ओली पनि यसअघि राणा शासक, राजा महेन्द्र र राजा ज्ञानेन्द्रकै बाटोमा लागेको आरोप लगाइन् । यो कदमले ऐतिहासिक उपलब्धी धरापमा परेको उनको दाबी थियो ।

उनले प्रतिनिधिसभा पुनस्र्थापना गर्न माग गरिन् ।

प्रतिक्रिया