‘पञ्चहरुको जस्तै ओलीको पनि अस्तित्व समाप्त हुन्छ’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा नेकपा प्रचण्ड–माधव समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका हुन् ।

जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए । कहिलेकाहीँ पार्टीको गल्तिका कारण तानाशाहहरु जन्मिने गरेको र त्यसको विरुद्धमा फेरी संघर्ष गर्दै जानु परेको समेत उनले बताए । वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा समेत दिएका छन् ।

विभिन्न ९ जिल्लाबाट बस रिजर्भ गरेर मान्छेहरुलाई पैसा दिएर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनकाे भनाइ छ । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गरेको र अहिले पनि ओलीले पञ्चभेला गर्दै हिँडेको उनको आरोप छ । त्यसबेलाका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने बताए ।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधि सभा सूचारु गर्न नसके देशमा चुनाव पनि नहुने, संसद पनि नहुने र देश प्रतिगमन तर्फ जाने बताए । त्यसैले पार्टीहरुबीच संयुक्त संघर्ष गर्नुपर्ने र संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भएपनि आन्दोलन गर्नुपर्ने उनकाे तर्क छ । इतिहासमा पुर्खाहरुले सुन्दर देश सुम्पिएर गएको तर विभिन्न कालखण्डमा जन्मिने तानाशाहहरुको कारण देशमा समृद्धि आउन नसक्दा तिनै पुर्खा, सहिद र आम नागरिकलाई जवाफ दिने ठाउँ नरहेको पनि उनले बताए ।

लोकतन्त्रको निम्ति लडनेहरु भित्रैबाट लोकतन्त्रका लुटेराहरु जन्मने, लोकतन्त्रलाई अपहरण गर्ने र फेरीपनि प्रतिगमन हुने स्थितिको अन्त्य हुनै पर्ने नेता श्रेष्ठ बताउँछन् । प्रतिगमनको खतराबाट देशलाई बचाउन सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया