‘सरकारको कामले केही कमरेडहरु ऐठन पर्नुभयो’

काठमाडौं । नेकपा अघोषित रुपमा विभाजित भएको बेला केपी शर्मा ओली नेतृत्वमा मिसिएका पूर्वमाओवादी नेता लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको सहमति तोडेको बताएका छन् ।

शुक्रबार आफू निकटको भेलालाई सम्बोधन गर्न धनगढी पुगेका उद्योगमन्त्री समेत रहेका भट्टले दाहाल विध्वंसतिर लागेको आरोप लगाउँदै एकताको सहमति तोडेको बताएका हुन् ।

‘प्रचण्डले सहमति तोड्नुभयो’, नेता भट्टले भने, ‘हिजो निश्चित रुपमा जनयुद्धमा हुनुहुन्थ्यो । अहिले आएर विध्वंसतिर लाग्नुभयो । त्यसैकारण एकताको सहमति तोडियो ।’

यस्तै नेता भट्टले सरकारले अल्पकालीन र दीर्घकालीन योजना अगाडि बढाएपछि सरकारको विरोधमा सरकारमै रहेको पार्टीका नेता उठेका बताएका छन् ।

उनले भनेका छन्, ‘जब सरकारले आफ्नो विभिन्न खाले योजनाहरु अघि बढायो । अनि पार्टीभित्रैका सहपाठीहरु ऐठन हुन थाले । त्यसपछि यस्तो भयो ।’

यसैबीच नेता भट्टले देशको विकास चाहने हो भने प्रचण्ड ओलीसँग मिल्न जानुपर्ने तर्क गरे । उनले तर्क गरे, ‘यदि देशको विकासै चाहने हो भने फेरि प्रचण्ड यहीँ आउनुहुन्छ ।’

प्रतिक्रिया