‘माधव नेपाललाई मैले उक्साएर राजनीतिमा ल्याएको हुँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाका एक अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिमा आफूले ल्याएको दाबी गरेका छन् ।

शुक्रबार आफू निकटको भेलालाई सम्बोधन गर्न धनगढी पुगेका ओलीले यस्तो बताएका हुन् । ‘माधव नेपाललाई मैले राजनीतिमा ल्याएको हुँ’, ओलीले सम्बोधनका क्रममा भने, ‘मैले उहाँ (नेपाल) लाई ३२ सालमा उक्साएर राजनीतिमा लगाएँ ।’

नेपालभन्दा आफू उमेर र राजनीतिक संलग्नताले धेरै ‘सिनियर्’ भएको बताएका ओलीले थप भने, ‘म २२ सालमा लागेँ, उहाँ बल्ल बल्ल त्यो पनि मैले उक्साएर राजनीतिमा आउनुभयो ३२ सालमा ।’

प्रचण्डले एउटै गीत गाउँदै हिँड्नुहुन्छ
यसैबीच ओलीले प्रचण्डले जहाँतहीँ एउटै गीत गाउँदै हिँड्ने गरेको बताएका छन् ।

सम्बोधनकै क्रममा ओलीले प्रचण्डले ‘तपाईँले भन्दा मैले एउटा भोटो बढी फटाएको छु, मलाई पहिलो अध्यक्ष दिनुस्’ भन्ने गीत जहाँ पुगे पनि गाउने गरेको बताए । उनले भनेका छन्, ‘उहाँ (प्रचण्ड)सँग मैले मागेर लिएको हुँ अध्यक्ष ? म माग्ने मान्छे होइन, म सर्वसम्मत् र जितेर आएको मान्छे हुँ । मैले भन्दै आएको छु । सत्यसँग लड्दिनँ र शक्तिसँग झुक्दिनँ भनेर ।’

उमेरले ३ वर्ष मात्रै जेठो भए पनि राजनीतिमा १० वर्षभन्दा जेठो भएको दाबी गर्दै ओलीले भने, ‘मैले एउटा भोटो मात्रै बढी फटाएको छैन । म राजनीतिमा आइसकेर कारगार जीवन बिताउँदै गर्दा उहाँले त पढ्दै हुनुहुन्थ्यो ।’

प्रतिक्रिया