प्रधानमन्त्री धनगढी पुगे, विद्यार्थीहरुले विरोध गरे

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएपछि त्यहाँ उनकाे विराेधीहरूले प्रदर्शन गरेका छन् । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर विराेध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओली नेकपा प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न त्यहाँ पुगिसकेका छन् । उनी अहिले एयरपाेर्ट ओर्लिएको र कार्यक्रम केही समयपछि सुरू हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रजिअ हिरालाल चौधरीले मकालु खबरलाई जानकारी दिए ।

भ्रमणलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा करिब ८ सय प्रहरी परिचालन गरिने छ । ‘सबै सुरक्षा निकायबीच समन्यव गरि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीका साथै सेना र सशस्त्र प्रहरी पनि सुरक्षामा खटिने छन्’, उनले मकालु खबरसँग भनेका छन् ।

कार्यक्रम सुरू हुनु २४ घण्टा अघिदेखि नै सुरक्षा टोली सक्रिय भएर सुरक्षा व्यवस्थामा खटिएको उनले बताए । सभामा ५० हजार नागरिक जम्मा गर्ने ओली समूह धनगढी कमिटीले दाबी गरेको छ । सभालाई सफलताका साथ सम्पन्न गर्नको लागि ४ क्याबिनेट मन्त्रीहरु केही दिनदेखि धनगढीमै रहेका थिए ।

ओलीको स्वागतमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन् । भट्ट दाहाल–नेपाल पक्षीय नेता हुन् । उनले यसअघि नै आफू प्रधानमन्त्रीको स्वागतमा जान नसक्ने बताइसकेका थिए ।

प्रतिक्रिया