चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास : खिमलाल भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधि सभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताएका हुन् । धमिलिएकाे राजनीतिलाई सङग्ल्याउन निर्वाचनमा जानु अनिवार्य आवश्यकता भएको उनकाे तर्क छ ।

संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान निर्वाचनले नै दिनसक्ने भएकोेले सबै चुनावतर्फ केन्द्रीत हुनुपर्ने पनि उनले बताए । उनले भने, ‘धमिलिएकाे राजनीतिलाई सङ्ग्ल्याउन जनतामा जानु अनिवार्य आवश्यकता बन्न गयो । यसैको परिणामस्वरुप प्रतिनिधि सभाको विघटन र चुनाव मिति घोषणा भयो । प्रतिनिधि सभा विघटनको संविधानमा व्यवस्था नै छैन भन्ने कुरा गलत हो ।’

प्रतिक्रिया