प्रमले ‘देखिस् त संसद् विघटन कसरी हुँदोरहेछ?’ भन्ने शैलीमा संसद् विघटन गर्नुभाे

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले साथीलाई ‘देखिस् त कसरी संसद् भङ्ग हुँदारहेछ ?’  भन्ने शैलीमा प्रतिनिधिसभा विघटन गरेकाे  टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाकाे बिहीबारको बैठकमा समय लिएर बोलेका बिडारीले आफैँले हस्ताक्षर गरेको संविधानलाई ओलीले जुङ्गा मुसासेर ‘देखिस् त कसरी संसद् भङ्ग हुँदारहेछ ?’ भन्ने शैलीमा संसद् विघटन गरिएको टिप्पणी गरेका हुन् ।

संविधान लेख्दा भएको बहसको ‘टेप रेकर्ड’ राष्ट्रिय सभामा बजाउन अनुरोध गरेका बिडारीले प्रधानमन्त्रीको सनकले संसद् विघटन हुन नहुने तर्क राखे । उनले भने, ‘संविधान लेख्दाको टेप रेकर्ड यहाँ बजाऔं । त्यसपछि हामीले कति नालायक काम गरेछौँ भनेर सम्बन्धित मान्छेलाई थाहा होस् ।’

संविधानकाे धारा ७६ र धारा १०० लाई विज्ञहरुसँग परामर्श गरेर के गर्यो भने प्रतिनिधि सभा प्रधानमन्त्रीको सनकले भङ्ग हुन सक्दैन भनेर जानेजत्तिको भाषा त्यहाँ लेखेको बताए । संविधानसभाका सदस्यसमेत रहेका बिडारीले भने, ‘यसका लागि जानेसम्मको भाषा लेखिएको छ । अहिले धारा ७६ कै धेरै व्याख्या चलिरा’छ । धारा १०० मा विश्वास र अविश्वासका कुरा छन् ।’

राजनीतिक नेतृत्वले मुलुकको हुर्मत लिँदा नेपाल आमा ‘गुहार गुहार’ भनेर  चिच्याइरहेको टिप्पणी पनि गरे ।

‘नेपाल आमा गुहार गुहार भनेर कराइरहेकी छन्’, संविधानसभाका सदस्यसमेत रहेका बिडारीले भने, ‘कहिले पार्टी फुट्ला र मन्त्री पाउँला भन्ने छट्टुहरुले लामो समय लगाएर लेखिएको नेपाली संविधानलाई कुल्चिएका छन् ।’

प्रतिक्रिया