अवैध लागूऔषध सहित तीन जिल्लाबाट तीन जना पक्राउ

काठमाडौं । विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।

पर्साकाे वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरस्थित सडकबाट मकवानपुर थाहा नगरपालिका-११ पालुङ बस्ने ३४ वर्षीय रबिन तामाङ पक्राउ परेका हुन् । उनलाई करीब १ सय ७ केजी अवैध लागूऔषध चरेश सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हाे ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको प्रहरीले ना६ ख ५६४३ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त चरेश फेला पारी ट्रक चालक तामाङलाई सहित पक्राउ गरेको हो ।

यस्तै मकवानपुरकाे मनहरी गाउँपालिका-७ मनहरी खोलाबाट अवैध लागूऔषध गाँजा करीब ५ किलो सहित राक्सिरा गाउँपालिका-९ बस्ने २८ वर्षीय बुद्धिमान तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तामाङलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरि झापा, मेचीनगर नगरपालिका-१० स्थित धुलाबारी चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष कुमार शर्मालाई करिब २ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले शर्मालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया