जोर्जियामा ११,७८० भोट खोज्न चाहन्छु : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत ‘खोज्न’ भनेको कल रेकर्ड सार्वजनिक भएको छ । वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, ‘म मात्र ११,७८० भोट खोज्न चाहन्छु ।’

रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ । अन्य राज्यहरूसहित जोर्जियामा पनि जो बाइडनले जितेका छन् । बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन् ।

नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन् । सबै ५० वटै राज्यहरूले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन् । त्यसका लागि केहीले पुन: मतगणना गरेका थिए भने केहीमा कानुनी सुनुवाइ पनि भएको थियो ।

हालसम्म अमेरिकी अदालतहरूले बाइडनको जितलाई चुनौती दिने ६० वटा मुद्दाहरूलाई अस्वीकार गरिसकेका छन् । अमेरिकी कङ्ग्रेसले भने ज्यानुअरी ६ मा चुनावी नतिजालाई प्रमाणित गर्न बाँकी नै छ । डेमोक्र्याटिक उम्मेदवार बाइडनले ज्यानुअरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन् ।

राज्यका दुईजना सिनेटरहरू छान्नका लागि जोर्जियाका मतदाताहरूले मङ्गलवार मतदान गर्दैछन् । उक्त नतिजाले सिनेटमा शक्ति सन्तुलन कस्तो हुनेछ भन्ने यकिन गर्नेछ ।

यदि दुवै डेमोक्र्याटिक उम्मेदवारले जितेमा त्यहाँ रिपब्लिकन र डेमोक्र्याटहरूको सदस्य संङ्ख्या बराबर हुनेछ र डेमोक्र्याटिक उप-राष्ट्रपति उम्मेदवार कमला ह्यारिससँग निर्णायक मत रहनेछ । डेमोक्र्याटहरूले पहिले नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा वर्चस्व कायम गरिसकेका छन् ।

फोन कलमा के कुरा भयो ?
वाशिङ्टन पोस्टद्वारा सार्वजनिक अंशमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेटलाई वैकल्पिक रूपमा दबाब दिइरहेको र फुस्ल्याइरहेको सुन्न सकिन्छ ।

उनले जोर्जियामा चुनाव जितेकोमा जोड दिएका थिए र रफेन्सपोगरलाई भनेका थिए, ‘तपाईँले पुन: गणना गरेको भन्नुमा केही पनि गलत हुने छैन ।’ रफेन्सपोगरले प्रतिउत्तर दिँदै भनेका थिए, ‘तपाईँको चुनौती भनेको के हो भने राष्ट्रपतिज्यू तपाईँसँग भएको तथ्याङ्ग गलत छ ।’

उक्त कलमा पछि ट्रम्पले फुल्टोन काउन्टीमा मतपत्र च्यातिएको र त्यहाँबाट चुनावी मेसिनरी हटाइएको हल्ला चलेको बताएका थिए । त्यसलाई त्यहाँको जिम्मेवारी पाएका रफेन्सगोपरका वकिलले त्यस्तो नभएको बताएका थिए । त्यसपछि राष्ट्रपतिले अधिकारीलाई सम्भावित कानुनी परिणामको धम्की दिएका थिए ।

उनले भनेका थिए, ;तपाईँलाई थाहा छ उनीहरूले के गरे भन्ने र तपाईँले त्यसलाई रिपोर्टिङ गरिरहनु भएको छैन । त्यो आपराधिक कार्य हो । तपाईँ त्यस्तो हुन दिन सक्नुहुन्न । त्यो तपाईँ र तपाईँको वकिल रायनका लागि ठूलो खतरा हो ।’

त्यसपछि उनले अतिरिक्त ११,७८० मतका लागि भने, त्यसले उनलाई उक्त राज्यमा कुल २४ लाख ७३ हजार ६ सय ३४ मत प्राप्त हुनेछ। त्यो भनेको बाइडनको भन्दा एक भोट बढी मत हुनेछ, त्यहाँ बाइडनले २४,७३,६३३ मत पाएका छन् । उनले रफेन्सगोपरलाई उक्त राज्यको नतिजालाई पुन: परीक्षण गर्नुपर्ने बताए । ह्वाइट हाउसले हालसम्म उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन । –बीबीसीबाट

प्रतिक्रिया