प्रचण्डको गृह जिल्लामा दुई समूहका दुई भेला

चितवन । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा दुई समूहले छुट्टाछुट्टै कार्यकर्ता भेला गर्दैछन् । पार्टीको केन्द्रीय तहमै विभाजन भएपछि जिल्ला तहमा पनि त्यसको प्रभाव परेको हो । अहिले पालिका स्तरमासमेत नेकपा ओली समूह र प्रचण्ड-नेपाल समूहको छुट्टाछुट्टै भेला भइरहेका छन् ।

यहीबीच आज चितवनमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड-नेपाल समूहले कार्यकर्ता भेला डाकेको हो । दुवै समूहले एउटै समयमा भेला आयोजना गरेपनि स्थान भने फरक छ । ओली समूहले भरतपुर १२ स्थित स्मार्ट बैङ्क्वेट एण्ड रिसोर्ट गोन्द्राङमा भेला आयोजना गरेको छ । जहाँ गृहमन्त्री समेत रहेका ओली समूहका नेता रामबहादुर थापा ‘बादल’, नेताहरु शंकर पोखरेल, महेश बस्नेत, आनन्द पोखरेल र काशीनाथ अधिकारी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै प्रचण्ड-नेपाल समूहले साविक नेकपा माओवादी केन्द्रको पाटी कार्यालयमा कार्यकर्ता भेला गर्दैछ । जहाँ उक्त समूहका नेता भीम रावल, योगेश भट्टराई, रामकुमारी झांक्री, नारायण दाहाल र रेणु दाहालले सम्बोधन गर्ने तय भएको छ । चितवन प्रचण्डको गृह जिल्ला भएकाले दुवै समूहले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । दुबै समूहले बढी भन्दा बढी कार्यकर्ता उतार्न पूर्व तयारीसमेत गरेका थिए ।

प्रतिक्रिया