प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटिद्वारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन हुने बताएका हुन् ।

कतिपय शक्तिहरुले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गरे । प्रतिनिधि सभाको चुनाव नेपाली जनता र देशको आवश्यकता भएकोले चुनाव तोकिएकै समयमा हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद पुर्नस्थापना गर्न नमिल्ने भन्दै विघटित संसद नबौरिने समेत बताए । देशलाई अलमलमा बस्न नदिन निर्वाचन आवश्यक रहेको उनको भनाइ छ । पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेकोमा तथा संविधान संशोधन भएकोमा बहानामा गुटबन्दी गरेकोले संगठन गतिशिल नभएको उनको भनाइ छ ।

पार्टीभित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउनमात्रै समय बरबाद गरेकाले संसद भंग गर्नुपरेको बताए । प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा संसद विघटन गर्नुकाे कारणको जवाफ पठाएको समेत उनले जानकारी गराए ।

प्रतिक्रिया