ग्राण्डीले काेभिड बिरामीकाे उपचारलाई निरन्तरता दिने

काठमाडाैं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड–१९ संक्रमित बिरामीको उपचारलाई निरन्तरता दिने भएको छ । अस्पतालले नेपाल सरकारको निर्देशन अनुसार १८ शैयाको सघन उपचार कक्ष सहित ५४ शैया छुट्याएर कोभिड उपचार गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जानकारी गराएकाे हाे ।

अस्पतालको आठौं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष दीपक कुँवरले कोभिड–१९ संक्रमित बिरामीको उपचारलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए । उनले अहिलेसम्म ४ सय २८ कोभिड विरामीको सफल उपचार सम्पन्न भएको र आगामी दिनमा पनि अत्यावस्यक स्वास्थ्य सामग्री सहित उपचार सेवालाई निरन्तरता दिने जानकारी गराए ।

समुदायमा अन्तर्राष्ट्रिय गुणस्तरको स्वास्थ्य उपचार सेवा सर्वसुलभ रुपमा प्रदान गर्ने उद्देश्य सहित आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिवद्धता साथ काम गरिरहेको अध्यक्ष कुँवरकाे भनाइ छ ।

ग्राण्डी अस्पतालले २६ विभिन्न स्वास्थ्य सम्बन्धी विधाहरुमा १ सय २१ पूर्णकालिन विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा उपलब्ध गराइरहेको छ । अस्पतालले स्थापनाका कालदेखि हालसम्म ७ लाख ८५ हजार विरामीको सफल उपचार गरेको छ ।

हालसम्म ३१ हजार ९ सय विरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको पनि अस्पतालले जनाएको छ । अस्पतालले अन्तर्राष्ट्रिय स्तरको ओपिडी सेवा, शल्यक्रिया, रेडियो डायग्नोष्टिक, प्याथोलोजी लगायतका सेवाहरु प्रवाह गर्दै आएको छ । यस्तै अस्पतालले इको, ट्रेडमिल, मामोग्राम, विएमडी, अल्ट्रासाउण्ड, इसिजी, रेडियोलोजी, प्याथोलोजी सेवा सरल र सहज तरिकाले उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया