विश्वभर कोरोना जित्नेको संख्या ६ करोड नाघ्‍यो

काठमाडौं । विश्वभर कोभिड-१९ को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारका ६ करोड ८२ हजारभन्दा धेरै मानिस कोरोनाबाट निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको वेबसाइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ८२ हजार ४६० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १८ लाख ४२ हजार ७७१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ८ करोड ४९ लाख ४४ हजार ८६४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५८ हजार ५१७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड ८ लाख ८२ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख १० हजार ५९० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९४२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २६६ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २१ हजार २२२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ३ लाख २४ हजार ६३१ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ७७ लाख १६ हजार ४०९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ७४२ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया