‘नयाँ संसद स्थापना नै अहिलेको सही नीति हो’

काठमाडौं । गृहमन्त्री एवम् नेकपा केन्द्रीय सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले नयाँ संसद स्थापना नै अहिलेको सही नीति हुने बताएका छन् । काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित नेकपा बृहत कार्यकर्ता भेलालाई प्रज्ञा प्रतिष्ठानबाट सम्बोधन गर्दै मन्त्री बादलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

विघटित संसद पुनः ब्यूँताउनेभन्दा पनि नयाँ संसद स्थापना गर्नुपर्ने उल्लेख गरेका मन्त्री बादलले भनेका छन्, ‘अहिलेको सही नीति भनेको नयाँ संसद स्थापना नै हो ।’

सम्बोधनकै क्रममा नेकपाबाट एक गुट अलग भएको दावी गरेका मन्त्री बादलले अवसरवादी रमाएको टिप्पणी गरेका छन् । ‘आज नेकपाबाट एउटा गुट अलग भएको छ’, मन्त्री बादलले भने, ‘यसले केही शक्ति र अवसरवादीहरु रमाइरहेका छन् । उनीहरु सोचिरहेका छन् कि, फेरि हाम्रो पालो आयो भनेर । तर, हामी कदापि त्यस्तो हुन दिँदैनौं । हामी जनतामाझ जान्छौँ र पुनः शक्तिशाली सरकार बनाउँछौँ ।’

यसैबीच मन्त्री बादलले नेकपाभित्रको अहिलेको लडाइँ सिर्फ शक्तिप्राप्तिका लागि भएको बताएका छन् । ‘अहिलेको पार्टीभित्रको संघर्ष सत्ता र शक्ति प्राप्तिको लागि मात्रै हो । भागवण्डाको मात्रै हो’, मन्त्री बादलले भनेका छन् ।

विभाजित नेकपालाई अब जनताले मात्रै जोड्न सक्ने बताउँदै मन्त्री बादलले अब जनादेशबाटै परिणाम खोज्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया