देउवालाई कृष्णगोपालको झटारो–‘भित्रभित्रै हड्डी हाँसे पनि बाहिर आन्दोलन त गर्नैपर्‍यो’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको खुलेरै बचाउ गरेका छन् ।

शनिबार काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित नेकपा बृहत् कार्यकर्ता भेलालाई प्रज्ञा प्रतिष्ठानबाट सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले अन्तिम विकल्पको रुपमा प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।

पार्टीभित्रैबाट हमला शुरु भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताएका उनले भने,  ‘के ताजा जनादेशमा जानु अप्रजातान्त्रिक हो ? के प्रधानमन्त्रीज्यूले असंवैधानिक काम गर्नुभएको हो ? कदापि त्यस्तो होइन । ताजा जनादेश भनेको सबैका हितकर हुन्छ ।’

यसैबीच मन्त्री श्रेष्ठले प्रतिपक्षी नेपाली कांग्रेसले नचाहँदा नचाहँदै पनि सडक आन्दोलन गरिरहेको बताएका छन् । खासगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई इङ्गित गर्दै बोलेका उनले भनेका छन्, ‘प्रतिपक्षीको पनि भित्रभित्रै त हड्डी हाँसेकै छ । तर, के गर्नु ? फेरि आन्दोलन त गर्नैपर्यो ।’

पछिल्लो समय सभापति देउवा प्रधानमन्त्री ओलीकै लाइनमा रहेको समाचारहरु बाहिर आएका थिए । देउवा प्रतिनिधि सभा विघटनकै पक्षमा रहेको समाचार मूलधारका सञ्चारमाध्यमले नै सार्वजनिक गरेपछि देउवाले पछिल्लो पटक एक विज्ञप्ति निकाल्दै आफू विघटनको विपक्षमा रहेको बताएका थिए ।

कांग्रेसले एक हप्ता अगाडि मात्रै देशको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया