‘हामी आधिकारिक हौँ, छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्थामा छैनौँ’

काठमाडाैं । सत्तारूढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूह आधिकारिक भएको दाबी गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले यस्ताे बताएका हुन् । उनले कार्यक्रममा भनेका छन्- ‘हामी आधिकारिक नेकपा हौँ । छातीमा कागज टाँसेर  बस्नुपर्ने अवस्थामा हामी छैनाैँ ।’

पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने उनकाे भनाइ छ । ‘वैधानिकता भनेकाे निर्वाचनमा आयोगबाट हाेइन, जनताबाट प्राप्त हुने हाे । उहाँहरु (दाहाल–नेपाल) ले जस्ताे वैधानिकताको निवेदन बोकेर निर्वाचन आयोग दर्खास्त हाल्न कहीँ गएका छैनौँ । हामीलाई जनताप्रति विश्वास छ र हामी अर्को पार्टी दर्ता गर्न पनि जाँदैनौँ ’, उनले भने ।

यस्तै उनले यस्तै उनले नेपाल–दाहाल समूहलाई गणतन्त्र, प्रजातन्त्रको विरोधमा नलाग्न पनि सुझाएका छन् । उनले भनेका छन्– ‘उहाँहरु पार्टी फुट्यो भनेर हिँड्नुभएको छ । म साथीहरुलाई भन्न चाहन्छ–पार्टी फुटेको होइन, केही साथीहरु किन अलग हुनुभएको हो । कसको आदेशमा, कसका लागि अलग हुनुभएको हो, त्यो मलाई थाहा छैन ।’

प्रतिक्रिया