साेती नरसंहार : आरोपीहरुलाई छोडिएकोप्रति दलित एकता सञ्जालकाे विराेध

काठमाडाैं । रुकम पश्चिमकाे चौरजहारीमा भएको हत्या घटनामा संलग्न आरोपीहरुलाई क्रमश छोडिएको भन्दै दलित एकता सञ्जाल नेपाल केन्द्रिय समितिले विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हाे । प्रदर्शनमा संलग्नहरूले निर्ममताका साथ भएकाे हत्या सम्बन्धमा सरकारले पीडितलाई न्याय नदिएको, तथा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
‘निर्ममताका साथ गरिएको घटनालाई बेवास्ता गर्दै जो जो आरोपीहरु छन् । उनीहरुलाई छाडिँदैछ,’ प्रदर्शनमा सहभागी एक अभियन्ता कृष्ण काफ्लेले भने, ‘ कतिपयलाई सरकारका मान्छेहरुकै संरक्षणमा छाडिएको कुरा सुन्नमा आएका छन् । जुन हामी चाहँदैनौँ ।’
गएकाे जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विकसहित ६ जनाकाे हत्या भएकाे थियाे । नवराज र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीकी सुष्मा मल्लबीच प्रेमसम्बन्ध भएका कारण उनलाई लिन नवराज साथीहरुसहित उनको घर पुगेका बेला हत्या भएको हो । विककी प्रेमिका भनिएकी किशोरीले नवराज विकको हत्यामा आफ्नै बुबा र दाईको समेत संलग्नता रहेको बयान समेत दिइसकेकी छिन् भने हत्यामा संलग्नहरूले पनि आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।








