कार्यकर्तालाई नारायणकाजीको अनुरोध– अनर्गल गाली र झुटा प्रचारमा नलाग्नुस्

काठमाडाैं । सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना समूहका नेता/कार्यकर्तालाई अनर्गल गाली र झुटा प्रचारमा नलाग्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् साे आग्रह गरेका हुन् । उनले लेखेका छन् – ‘महान् उद्देश्यलाई केन्द्रमा राखी विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल -बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवम् झुठा प्रचारमा लाग्नेहरुझैँ प्रस्तुत नहुन अनुरोध गर्दछु ।’
यस्तै प्रवक्ता श्रेष्ठले संविधानको ठाडो उलंघन गरी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमको विरुद्ध आफूहरु संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेकाे समेत बताए । ‘त्यस प्रकारको असंवैधानिक कदम चालिएको पौष ५ गतेको कालो दिन पछि पौष ७ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने उद्देश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्याईयो ।’
यतिबेला मुख्यत: प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिइरहेकाे बताउँदै नेता श्रेष्ठले आफूहरुका लागि देश, जनता, पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुने पनि बताए । नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतीकरण तथा भ्रष्टीकरणबाट बचाउनु पर्ने उनकाे भनाइ छ ।








