किन गुट र विभाजनमै रुमल्लिएको छ राजनीति ?

काठमाडौं । विश्वेश्वरप्रसाद कोइराला भारत निर्वासन गएको ८ वर्षपछि २०३३ पुस १६ गते ‘देशवासीको नाउँमा अपिल’ जारी गर्दै स्वदेश फर्केका थिए । आजका मितिमा त्यो अपिल राष्ट्रिय मेलमिलापको अपिल बन्न पुगेको छ भने त्यो दिन राष्ट्रिय मेलमिलाप दिवस ।

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए । तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका वीपीलगायत नेतालाई तत्कालीन सरकारले मेलमिलाप त परै जाओस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।

राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री वीपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठवर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका जननायक वीपी कोइराला कुनै दलविशेषको मात्र नभई मुलुककै राजनेताका रूपमा चिनिन्छन् । राजनीति मात्र होइन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु-याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अद्यापि सान्दर्भिक र अपरिहार्य मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४५ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

तर, अहिले भने नेपाली राजनीति गुट र विभाजनमै रुमल्लिएको छ । बहुमतको सरकार चलाइरहेको नेकपाले संसद् भङ्ग गरेपछि विभाजित बनेको छ । नयाँ संविधान जारी भई देश संघीयतामा गएसँगै सबैले सोचेका थिए- ‘अब नेपाली राजनीतिको संक्रमणकाल सकियो, मुलुक आर्थिक समृद्धिको बाटामा बढ्छ ।’ तर होइन रहेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवादका कारण संसद् विघटन गरेर देशमा देशलाई फेरि संक्रमणकाल तर्फ उन्मुख गराए । उनको यो महात्रुटि नसच्चिने हो भने पुनः संघर्षको चरणमा राजनीति प्रवेश गर्ने निश्चितप्रायः छ ।

लामो राजनीतिक अस्थिरताले ग्रस्त मुलुकमा अब स्थायित्व आयो भन्ने बुझाइ पनि ओली कदमले गलत नै बनाइदियो । राजनीतिक अंकगणितले मात्रै स्थायित्व नल्याउने रहेछ । यसो भन्दै गर्दा अहिलेको अवस्थाको मूल जिम्मेवार ओली हुन् तर उनी एक्ला दोषी होइनन् । शीर्ष नेताबीच चलेको अहम्को परिणति हो यो ।

नेकपा मात्रै होइन, वीपीले नासोमा छोड्नु भएको दल नेपाली काँग्रेसभित्रमा पनि अहिले आफै राष्ट्रिय मेलमिलापको आवश्यकता खड्किदैछ । काँग्रेस आफै संयुक्त मोर्चाझैँ देखिन्छ । आपसमा मेलमिलाप छैन । मेल मिलापका लागि अरू दलहरुसँग सहकार्य गरेर संविधानलाई कार्यान्वयन गर्ने खास जिम्मा काँग्रेसको हो तर आफैमा तितरवितर भएको काँग्रेसमा त्यो क्षमता कति रहला ? त्यसैले सर्वप्रथम आफ्नो नीतिको कार्यान्वयन आफ्नै दलमा एकता र मेलमिलाप गरेर अरूलाई देखाउन सक्नुपर्दछ ।

आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप
यतिखेर नेपालमा क्रियाशील भएका मूल धारका दलहरू आवरणमा दल भनेर सम्बोधित भए पनि यथार्थमा गुटहरूको महासङ्घ प्रतीत भइरहेको छ । सबै नायकहरू गुट बलियो बनाएर पार्टी कब्जा गर्ने र त्यहीमार्फत सरकारको निर्माण गरी संविधालाई नै गलत ढङ्गले प्रयोग गर्ने रणनीतिमा छन् ।

हिजो एकजुट भएर लक्ष्य प्राप्तिका लागि सहयोद्धा बनेका राजनीतिक दलहरू आज विभक्त मात्र हैन, एकअर्कालाई पाएसम्म सिध्याउने तल्लो स्तरको खेलमा सक्रिय देखिएका छन् । राष्ट्रिय मेलमिलाप आजको सन्दर्भमा सन्तुलित राजनीतिको आभा बन्न सक्नुपर्छ ।

पीपीले आदर्शको प्रतीक राष्ट्रियता कमजोर पार्न देशी वा विदेशी गलत तागत सलबलाएर हामीलाई भ्रमित बनाउन सक्छन् । यसैले त्यस्तो अवस्थामा हामी व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतरासामु गौण मान्दै देश वा राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने कुरा हेक्का गर्नुपर्छ । किनकि राष्ट्र बचाउने दायित्व सबैको साझा हो । वास्तवमा नेपालको सन्दर्भमा राष्ट्रिय एकता र मेलमिलाप नेपाली राजनीतिको मौलिक र सार्वकालिक सिद्धान्त हो भन्दा फरक पर्दैन ।

अतः देश संकटतर्फ सोझिएका बेला राष्ट्रिय मेलमिलाप दिवसको दिन नेपाली कांग्रेस नेतृत्वले वीपीले जस्तै देशलाई वर्तमान सङ्कटबाट निकास दिन आवश्यक तत्परता र पहलकदमी गर्नुपर्नेछ । र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने गरी दिशानिर्देश गर्न कांग्रेस अग्रसर हुनैपर्छ ।

प्रतिक्रिया