मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

प्रधानमन्त्री ओली भन्छन्– ‘अब संसद पुनर्स्थापना हुँदैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने बताएका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने बताएका हुन् ।

संविधानतः संसदको पुनर्स्थापना गर्न नमिल्ने उनको भनाइ छ । आफू संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले विकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

झलनाथले ओलीलाई सोधे : बालुवाटारको चुल्होमा ग्यास पाइप पुग्यो की पुगेन ?

सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ‘बालुवाटारको चुल्होमा ग्यास पाइप पुग्यो की पुगेन ?’ भन्दै व्यंग्यात्मक शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । केपीले उखान टुक्का हानेरै देश चलाएको, विकासका काम नगरेको उनको आरोप छ ।

उनले भनेका छन्, ‘बालुवाटरमा पनि ग्याँस चुल्हो छ कि छैन खै ? केपी ओलिले गफ मात्र दिए । जथाभावी बोलेर तीन बर्ष बताउनुभयो । उहाँलाई राष्ट्रलाई उथल पुथल पार्ने अवसर थियो तर उहाँले आफ्नै कारण गुमाउनु भयो ।’

६०० जना निको हुँदा ५११ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५११ कोरोना संक्रमित थपिएका छन् । यस्तै बुधबार ६०० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा ३६२ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार ३ सय रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । संक्रमितमध्ये २ लाख ५१ हजार ९१२ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ८४७ पुगेको छ ।

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

सत्तारूढ नेकपाको नेपाल(दाहाल समूहले बागमति प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड(माधव समूहको प्रदेश सांसदको बैठकले सो निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्य चयन भएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गत १० पुषमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । जसमा भावी मुख्यमन्त्रीको रुपमा उनै शाक्यलाई प्रस्ताव गरिएको थियो ।

चिनियाँहरुको चासोलाई हामीले अन्यथा मान्नुपर्ने कारण छैन : राजन भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका छन् । यद्यपी संसद विघट्नविरुद्ध अदालतमा परेको रिटको विषय अहिले पनि विचाराधिन रहेको उनले बताए ।

आज (बुधबार) राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै डा. भट्टराईले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानतः निर्वाचनको घोषणा गरिसक्नुभएको छ । वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा निर्वाचन हुन्छ । निर्वाचन आयोग तयारीमा जुटिसकेको छ ।’

उनले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले ‘मैले सरकार चलाउन सकिनँ, म निर्वाचनमा जान्छु भन्न नपाउने ?’ भन्दै प्रश्न समेत गरे । उनले थपे, ‘सिटिङ प्राईममिनिस्टरले निर्वाचनमा जान्छु भन्न किन नपाउने ? पहिलो यो बहुमतप्राप्त सरकार हो । संसदभित्र विकल्प छैन । निर्वाचन हुँदैन कि भन्ने विषयमा हामी अन्यौलतमा रहनु हुँदैन ।’

जनतामा नैराश्यता आउनु दुःखद् हो : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको बताएका छन् । तमु समुदायको ल्होछार पर्वको अवसरमा शुभकामना दिनेक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विषयलाई शुभकामना सन्देशमा नजोडे पनि उक्त कदमले जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् भएको उनले घुमाउरो शैलीमा बताएका हुन् । ‘जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो’, तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार(ल्होसार २०७७ को अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले भनेका छन् ।

उपराष्ट्रपतिले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको प्रष्ट पारेका छन् । उनले संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्णपालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने र उपलब्धिको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्ने उल्लेख गरे ।

नेकपाको बैंक खाता रोक्का, निर्वाचन आयोग र सर्वोच्चको निर्णयपछि मात्रै खुल्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैंक खाता रोक्का हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार नेकपाको बहुमत सदस्यहरुले गरेको पत्राचारका आधारमा खाता रोक्का हुने भएको हो ।

दाहालले भनेका छन्, ‘पार्टीको होस् या अन्य कुनै संस्थाको, विवादित अवस्थामा यस्तै क्रिटिकल अवस्था आउँछ र खाता रोक्का हुन्छ । नेकपाको पनि दुई पक्षबीच विवाद उत्पन्न भएर खाता रोक्का गर्न भनी निवेदन परेको छ । अब रोक्का हुन्छ । निर्वाचन आयोग वा सर्वोच्चको अन्तिम निर्णय आएपछि मात्रै खाता खुल्छ ।’

नेकपाभित्रको असन्तुष्ट पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका सदस्यहरुले बुधबार खाता रोक्काको लागि सामूहिक पत्रचार गरेका थिए ।

लक्ष्यभन्दा १३ अर्ब कम उठ्यो राजस्व, कुन करको लक्ष्य र संकलन कति?

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सरकारले लक्ष्य गरेभन्दा निकै कम राजस्व संकलन गरेको छ । गत पाँच महिनामा सरकारको राजस्व संकलन लक्ष्यभन्दा १३ अर्ब २९ करोड रुपैयाँ कम भएको हो ।

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर यो अवधिमा ३ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ मात्रै संकलन भएको हो ।

मंसिरसम्मको लक्ष्यमा सबै शीर्षकमा कम राजस्व संकलन भएको छ । लक्ष्य तोक्दा देशमा जटिल अवस्था नआउने आकलन गरी आगामी दिनका लागि केही बढाएर राखिएको थियो । तर पछिल्लो समय राजनीतिक अवस्था विषम हुँदा अर्थ मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लियो
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भरहम्पटनलाई १/० गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि मार्कोस राशफोर्डले खेलको ९३औ मिनेटमा गोल गर्दै जित दिलाएका थिए ।

यो जितपछि युनाइटेड लिगको दोस्रो स्थानमा पुगेको छ । युनाइटेडको १५ खेलमा ३० अंकसहित दोस्रो स्थानमा पुगेको हो । शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा युनाइटेड २ अंकले पछाडी रहेको छ । त्यस्तै वोल्भरहम्पटनको १६ खेलमा २१ अंक रहेको छ र लिगमा १२औ स्थानमा रहेको छ ।

त्यस्तै गएराती भएको सम्पन्न खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले ब्राइटनलाई १(० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि अलेक्जेन्डर लेकाजेटले खेलको ६६औ मिनेटमा गोल गरेका थिए । यो जितपछि आर्सनलको १६ खेलमा २० अंक भएको छ भने लिगको १३औ स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको १६ खेलमा १३ अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

क्रोएशियामा ६.४ म्याग्निच्युडको भूकम्पः ७ जनाको मृत्यु, उद्धार कार्य जारी
मध्य क्रोएशियामा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमण पछि प्रधानमन्त्रीले जनाएका छन् ।

पाँच जनाको नजिकैको सहर ग्लीनामा मृत्यु भएको उप प्रधानमन्त्रीले बताए । मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ ।

भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब , छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । ‘हामीले मानिसहरूलाई कारबाट बाहिर तानिरहेका छौँ,’ पेट्रेनियाका मेयरले क्षेत्रिय प्रसारक एन१लाई भने । ‘त्यहाँ सामान्य त्रास छ । मानिसहरू आफ्ना प्रियजनहरूको खोजीमा जुटेका छन् ।’

प्रतिक्रिया