प्रधानमन्त्री ओली भन्छन्- अब संसद पुर्नस्थापना हुँदैन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका हुन् ।

संविधानत्ः संसदको पुर्नस्थापना गर्न नमिल्ने उनको भनाइ छ । आफू संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले विकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाए । आफूले मित्रताले अंगालो हालेपनि प्रचण्डले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ । प्रचण्डको ध्यान कसरी कब्जा गर्ने र हत्याउने भन्ने मात्रै रहेको उनकाे आरोप छ ।

लोकतन्त्रमा जनताबाट बेलाबेलामा अनुमोदित भइरहनुपर्ने बताउँदै उनले निर्वाचनको तयारी गर्न प्रचण्ड–माधव पक्षलाई आग्रह समेत गरे । चुनाव गर्दा लोकतन्त्र, गणतन्त्र नसकिने ओलीको भनाइ छ । ओलीले प्रचण्ड माधव पक्षले पार्टी एकतालाई टुंग्याउन नदिएको, संवैधानिक आयोगलाई पूर्णता दिन नचाहेको तथा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, राष्ट्रपति लगायत संवैधानिक आयोगहरुलाई महाअभियोग लगाउन खोजिएको बताए । उनले आगामी चुनाव निष्पक्ष र धाधँलीरहित रहने पनि जिकिर गरे ।

प्रतिक्रिया