सामन्ती र निरंकुशतावादी सल्बलाए, फेरि संघर्ष गरौं : प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धी रक्षका लागि फेरि संषर्घमा जानुपर्ने बताएका छन् । गुरुङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका उनको भनाई छ । ‘पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको छ’, प्रचण्डले भनेका छन्, ‘आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको छ । तसर्थ सबै समुदायहरुका यी उपलब्धी गुम्न नदिन एकतावद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वहरुको अवसरमा सु-स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सावधानीका साथ पर्व मनाउन उनले शुभकामना सन्देशमा आग्रह गरेका छन् । ‘तमू (गुरुङ) समुदायको तमू ल्होछार(ल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्– ‘आ-आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह पनि गर्न चाहन्छु ।’

प्रचण्डले सन्देशमा नेपालको मौलिक पहिचान आपसी सहिष्णतामा रहेकोसमेत उल्लेख गरेका छन् । उनले विविधता भित्रको एक्ता नेपाली समाज भएको उल्लेख गरेका छन् । ‘नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो मौलिक परम्परा भएको देश हो । हाम्रा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णताले नै हाम्रो मौलिक पहिचान बनेको हो, ‘विविधता भित्रको एकता नेपाली समाजको विशेषता हो,’ उनले सन्देशमा अगाडि भनेका छन् ।

प्रतिक्रिया