‘ओलीले गफ हाँकेरै ३ वर्ष बिताए, अब केपी बा प्रवृत्ति समाप्त गर्छाैँ’

काठमाडौं । सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ हाँकेरै तीन वर्ष बिताएको टिप्पणी गरेका छन् । देश चलाउन सही भिजन नीति चाहिने उनकाे भनाइ छ ।
‘उहाँले पटक पटक सुझाव दिँदा पनि पार्टीलाई टेर्नु भएन । एकलौटी ढंगले क्याविनेट, प्लानिङ कमिसङ तथा पुँजीवादी नीति कार्यक्रम ल्याउनुभयाे । पानीजहाज, घरघरमा चुलो पुर्याउने कुरा गर्नुभयाे । ३ वर्ष उखान टुक्कामै खेर फाल्नुभयाे,’ उनले भने।
यस्तै नेता खनालले ओलीले पार्टीलाई भर्याङजस्तै बनाएको नेता खनालले आरोप समेत लगाए । पाेजिसनमा पुगेर पार्टी नीति बिर्सिएकाे उनकाे आरोप छ । ओलीकै असहयोगले ३ वर्ष बित्दा पनि एकीकरणको काम नसकिएकाे उनकाे भनाइ छ ।
यस्तै प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली गणतन्त्र विरोधी भएको बताएका छन् । ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नभएको नेता नेपालले बताए । ओली सुध्रिएलान् कि भनेर अनुशासनकाे कारवाही नगरी आफ्नो समूहले अन्तिम माैका दिएकाे उनकाे तर्क छ । ओलीले पदको ललिपप बाड्दै हिँडेको आरोप समेत उनले लगाउन भ्याए ।
विराेध सभामा उनले भने, ‘उहाँले नियुक्ति दिन्छु, टिकट दिन्छु भनेर लोभ लालच बाँड्दै हिँड्नु भएकाे छ । वामदेव गौतम, प्रचण्ड र मलाई छुट्टाछुट्टै बोलाएर फकाउने गर्नुहुन्थ्याे । अब केपी वंश र प्रवृत्तिबाट मुक्ति पाउने बेला भएको छ । हामीले उहाँलाई सुध्रनका लागि एक मौका दिएका छौँ । यसपछि पनि उहाँमा सुधार आएन भने हामी केपी बा प्रवृत्ति समाप्त गर्छाैँ ।’








