नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं : चीन

काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले नेपालका सबै राजनीतिक दलसँग चीनको मित्रवत सम्बन्ध रहेको बताउँदै आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश बोकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उप-विदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौंमा नेकपाका नेतासँग भेटवार्तामा व्यस्त रहेका बेला बेइजिङबाट यस्तो सन्देश आएको हो । चिनियाँ प्रतिनिधिमण्डलले नेकपाका नेतासँग संवाद गरेर पार्टी एकता कायम गर्न सुझाव दिइरहँदा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिबद्ध रहेको जनाएको हो ।
विदेश मन्त्रालयका प्रवक्ताले चिनियाँ उप-विदेशमन्त्रीको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउन केन्द्रित रहेको बताए । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता झाओले चिनियाँ प्रतिनिधिमण्डल कोभिड-१९ को रोकथाम तथा नियन्त्रण, सुशासन, विकास र आपसी साझा चासोबारे छलफल गर्न काठमाडौं पुगेको जिकिर गरे ।








