‘केपी ओली आफूले इतिहासको कलङ्कको टीका लगाए, हामीलाई जनतासँग जोडिदिए’ [भिडिओसहित]

काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपाका पहिलो वरीयता अध्यक्ष केपी शर्मा ओलीले इतिहासको कलङ्कको टीका लगाएको बताएका छन् ।

सोमबार जनसंगठनको कार्यालय पेरिसडाँडामा आफूनिकटको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

करोडौं जनताको अभिमतबाट निर्वाचित प्रतिनिधि सभालाई ओलीले रिस उठेपछि विघटन गरेको बताउँदै अध्यक्ष दाहालले आफूहरुलाई भने जनतासँग पुनः एकपटक जोडिदिने काम गरेको बताएका छन् । ‘केपी ओली आफूले त इतिहासको कलङ्कको टीका लगाए, हामीलाई चाहिँ जनतासँग एक पटक जोड्ने काम गरे’, अध्यक्ष दाहालले भनेका छन् ।

स्थायी सरकारको परिकल्पना गर्दै आफूहले संविधानबाट संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार खोसेको र उक्त निर्णयमा स्वयम् ओली नै सहमत रहेको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘हामीले प्रधानमन्त्रीको संसद विघटन गर्ने अधिकार खासेका थियौं । त्यहाँ स्वयम् केपी ओली नै सहमत थिए । हामीले संसदभित्रै विकल्प खोज्ने भनेका थियौं । तर, अहिले बडो निर्मम तरिकाले प्रतिनिधि सभा विघन गरियो ।’

यसैबीच अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन हुनु भनेको सामूहिक विवेकमाथिको प्रहार भएकोसमेत टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा विघटन हुनु संसदमाथिको मात्रै प्रहार नभएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘सामूहिक विवेकको निष्कर्षमाथि ओलीले प्रहार गरे । कू तरिकाले प्रहार गरे । यो संसदमाथिको मात्रै प्रहार होइन । सांसदहरुको सार्वभौम अधिकामाथिको प्रहार पनि हो ।’

भिडिओ यहाँबाट हेर्नुस्ः–

 

प्रतिक्रिया