विद्यादेवी भण्डारीलाई रामवरण यादवबाट ‘ट्यूसन्’ लिन विश्वप्रकाशको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवबाट ‘ट्यूसन्’ लिन आग्रह गरेका छन् ।

सोमबार कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा गरेको सरकार विरोधी प्रदर्शनअन्तर्गतको काठमाडौं क्षेत्र नं. २ कोटेश्वरको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो आग्रह गरेका हुन् ।

खासगरी पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिफारिस संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रतिनिधि सभा विघटनको गल्ती सच्याउन नसकेको औंल्याउँदै प्रवक्ता शर्माले यस्तो वाक्यांस बोलेका हुन् । ‘म आग्रह गर्न चाहन्छु । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपति रामवरण यादवबाट ट्यूसन् लिनुस् । तपाईँलाई राष्ट्रपतिको कामकारबाहीबारे राम्रो थाहा रहेनछ’, कांग्रेसको खुला सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले भने, ‘साँच्चै नै राष्ट्रपति हो भने प्रधानमन्त्रीबाट भएका गल्तीहरुलाई सच्याउन सक्नुपर्छ ।’

यसैबीच प्रवक्ता शर्माले शीतल निवासमा गर्मी भइरहेको टिप्पणी पनि गरेका छन् । पछिल्लो राजनीतिक विषयवस्तुप्रति इङ्गित गर्दै प्रवक्ता शर्माले शीतल निवासमा गर्मी भइरहेको बताएका हुन् । उनले भनेका छन्, ‘शीतल निवास गर्माइरहेको छ ।’

जनताको रेलको सपना दुर्घटना भयो
यसैबीच फरक प्रसङ्गमा प्रवक्ता शर्माले चुनावताका केपी शर्मा ओलीले देखाएका रेलको सपनाहरु प्रतिनिधि सभा विघटनसँगै तुहिएको बताएका छ्न । ‘प्रतिनिधि सभा विघटन भयो । जनताको रेलको सपना पनि तुहियो’, प्रवक्ता शर्माले भनेका छन् ।

सम्बोधनकै बीच जनतालाई कम्युनिष्ट भ्रमबाट मुक्त हुन अनुरोध गरेका प्रवक्ता शर्माले भनेका छन्, ‘नेपालमा राजनीतिक स्थायीत्व केही व्यक्तिका कारण नै हुँदैन । अरु देशमा सरकार बन्छ चल्नको लागि, नेपालमा सरकार बन्द ढल्नको लागि जस्तो भएको छ ।’

यसैबीच प्रवक्ता शर्माले आफूहरुले सदन खोज्नको लागि सडक संघर्ष गरेको पनि बताए ।

 

प्रतिक्रिया