बादलबारे प्रचण्ड–‘बबरमहलको लागि तयार पारेको भाषण बालुवाटारमा गर्नुभयो’

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पुराना सहयात्री रामबहादुर थापा ‘बादल’ बिराएर बालुवाटार पुगेको बताएका छन् ।

शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘तपाईँको पुरानो सहयात्री बादललाई तपाईँले किन आफ्नो पक्षमा ल्याउन सक्नुभएन ?’ भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष दाहालले भने, ‘यतिबेला उहाँ आउनुभएन । उहाँ बिराएर बालुवाटार पुग्नुभएछ । उहाँ आउनुहुन्छ विश्वास छ ।’

यस्तै दाहालले बादलले बबरमहलको लागि तयार पारेको भाषण बालुवाटारमा गरेको बताएका छन् । ठट्यौली गर्दै दाहालले भने, ‘मलाई त के लाग्छ त भन्दा, बादलजीले यताको लागि ठिक पारेका भाषण बालुवाटार पुगेर गर्नुभएछ ।’

यसअघि हिजो बालुवाटारमा बसेको ओली पक्षीय तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले नेकपाबाट एउटा गुट अलग भएको बताएका थिए ।

बादल पूर्वमाओवादी नेता हुन् । दाहालसँगको उनको सम्बन्ध विभिन्न कालखण्डमा विकसित विभिन्न राजनीतिक अवस्थाका कारण चिसिँदै आएको छ । यसैबीच पछिल्लो नेकपा आन्तरिक विवादबाट बादल ओलीकै कित्तामा उभिएका छन् ।

प्रतिक्रिया