पर्यटन प्रवर्द्धन गर्न ‘घुमौ सौराहा’ अभियान

ध्रुवराज खनाल-

चितवन । कोरोनाका कारण थिलोथिलो परेको देशकै तेश्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नयाँ अभ्यासको थालनी गरिएको छ । कोरोनापछि यहाँको पर्यटन गतिविधि शुन्य थियो । तर केही चलायमान हुने अवस्थामा भने छ । सौराहा बाह्य पर्यटनले धान्दै आएको पर्यटकीय क्षेत्र हो । तर अझ एक डेढ वर्ष सौराहामा वाह्य पर्यटक आउने संभावना छैन ।

आन्तरिक पर्यटन प्रवद्र्धनबाट मात्रै सौराहालाई चलायमान बनाउने उदेश्यले तत्कालका लागि ‘घुमौ सौराहा’ नामक अभियान सुरुवात गरिएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनले पर्यटन वोर्ड, जिल्ला समन्वय समिति चितवन र रत्ननगर नगरपालिकाको सहयोगमा नेपालको पूर्वबाट घुमौँ सौराहा’ अभियान सुरुवात गरेको छ । पहिलो चरणमा विराटनगरबाट सौराहाको प्रचार प्रसार गर्दै अभियानको सुरुवात गरिँदैछ । सौराहाका कुनै पनि हिसावले सुरक्षित गरेको सन्देश दिँदै घुमौँ सौराहा अभियान सुरु गरिएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । भूकम्प गएका बेला पनि सौराहा सुरक्षित थियो । अहिले कोरोना महामारीका बेला पनि सुरक्षित छ । संघका अध्यक्ष भट्टराईले भने – सौराहालाई विस्तारै चलायमान बनाउन घुमौँ सौराहा अभियानले टेवा पुर्याउने छ ।

झण्डै ८ महिना शुन्यको अवस्था रहे पनि दशैँ तिहार पछि केही मात्रामा पर्यटक यहाँ घुम्न आईरहेका छन् । संघका अध्यक्ष भट्टराईका अनुसार अहिले रात बस्ने पर्यटक १० देखी १५ प्रतिशत छन् भने दिउँसो आएर फर्कने झण्डै ३० प्रतिशतको हाराहारीमा छन् । तत्कालका लागि आन्तरिक पर्यटकबाट मात्रै सौराहाको पर्यटन प्रवद्र्धन हुने भएकाले पहिलो चरणमा ‘घुमौ सौराहा’ अभियानका क्रममा विराटनगर, जनकपुर र विरगंजमा कार्यक्रम गरी सौराहाका बारे जानकारी गराईनेछ । त्यसका लागि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको नेतृत्वमा, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईसहित पदाधिकारीको टोली त्यस तर्फ लागेको छ ।

विराटनगर जानु अघि बिहीवार सौराहामा पत्रकार सम्मेलन गरी अभियानका बारे जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिका प्रमुख नारायण वनले पर्यटकका लागि सबै किसिमले सौराहा सुरक्षित रहेको बताए । सबैै किसिमले सौराहा सुरक्षित छ नगर प्रमुख वनले भने – तत्काललाई वाह्य पर्यटक आउने संभावना छैन् । कोभिडले अतालिएको आन्तरिक पर्यटकलाई न्यानो आतिथ्यता दिन हामी तयार छौँ । सौराहा रत्ननगर नगरपालिका अन्र्तगत पर्दछ । जिल्ला समन्वय समिति चितवनका स्थानीय समन्वय अधिकारी चुडामणी गौतमले ‘घुमौ सौराहा’ अभियानले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्धार रहेको सौराहा वन्यजन्तु अवलोकनका लागि विश्वभर प्रख्यात छ । यहाँ बाघ, गैडा, भालु, चितुवा, गोही, वाँदरहरु, सयौँ प्रजातिका चराहरु र पुतली छन् ।

त्यस्तै बाघमारा सामुदायिक वन, चित्रसेन सामुदायिक वन र कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जीप सफारी, डुंगा सयर गर्न पाउनुका साथै हात्ती प्रजनन केन्द्र, हात्ती स्नान, टावरमा रात्रीकालिन वास, सुर्यास्त अवलोकन, थारु सांस्कृतिक कार्यक्रम, जंगल पैदलयात्रा, चरा अवलोकन, सेभेन प्वाईन्ट टुर, घडियाल प्रजनन केन्द्र अवलोकन गर्न पाईन्छ भने सौराहा नजिक देवघाट, श्वास्वतधामा, उपरदाङगढी, माडी, अम्व्रेला स्ट्रिट, लामो झरना, मनकामना मन्दिर, मौलाकालिका मन्दिर, परेवाकोट, कंकाली कोट लगायत पर्यटकीय स्थल रहेका छन् । सौराहामा साना ठुला गरी करिब १२० वटा होटल, ७० वटा भन्दा बढि रेस्टुरेन्ट रहेका छन् ।

प्रतिक्रिया