दुवै नेकपाको केन्द्रीय समिति बैठक बस्दै, को बन्ला दाहाल–नेपाल पक्षीय महासचिव ?

काठमाडौं । बिहीबार (आज) राजनीतिक रुपमा विभाजन भइसकेका दुवै नेकपाले केन्द्रीय समिति बैठक बोलाएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले आ–आफ्नो निकटका सांसदहरुलाई दिउँसो १ बजे बालुवाटार र बबरमहल बोलाएको हो ।

यसअघि गत मंगलबार पनि आ–आफ्नो पक्षको बैठक राखेका थिए भने आ–आफ्नै हिसाबले निर्णयहरुसमेत पारित गरेका थिए । उता बालुवाटारमा बिहान बसेको बैठकले ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेको थियो भने यता बबरमहलमा बसेको बैठकले ओलीलाई कारबाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई उही वरीयतामा रहने गरी अध्यक्ष बनाएको थियो ।

यसैबीच दाहाल–नेपाल पक्षले महासचिवमा विष्णु पौडेललाई हटाएर अन्य आफूनिकटका नेताहरुलाई दिने तयारी गरेको बुझिएको छ । यद्यपि पनि उक्त विषयमा आजको बैठकमा प्रस्ताव नजाने बुझिएको छ । एक नेताले मकालु खबरलाई बताएअनुसार सो विषयमा केही दिनपछि निर्णय हुनेछ । ती नेताले भनेका छन्, ‘अहिले होइन, केही दिनमा सो विषयबारे छलफल तथा निर्णय हुनेछ ।’

दाहाल–नेपाल पक्षमा महासचिवको आकांक्षीका रुपमा सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मालगायतका नेताहरु छन् ।

प्रतिक्रिया